लगानीकर्तामा बजेटकाे नकारात्मक असर, २१ सयको बिन्दुबाट तल झर्‍यो नेप्से-Sutra News

लगानीकर्तामा बजेटकाे नकारात्मक असर, २१ सयको बिन्दुबाट तल झर्‍यो नेप्से

बुधबार, १६ जेष्ठ २०८१

बुधबार, १६ जेष्ठ २०८१

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से)मा बजेट भाषणको नकारात्मक प्रभाव परेको छ । बजेट भाषणपछिको पहिलो कारोबार दिन बुधबार नेप्सेमा निराशा जगाउने गरी गिरावट भएको हो । सँगै नेप्से २ हजारको बिन्दुमा पनि फर्किएको छ ।



नेपाल स्टक एक्सचेन्जले जनाएअनुसार बुधबार २३.८१ अंक अर्थात् १.१२ प्रतिशतले घट्दै नेप्से २०८९.४२ को बिन्दुमा फर्किएको हाे ।

निराशा देखिएको नेप्सेमा अधिकांश सूचकांक राताम्मे बने । यस दिन नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये चार वटा उपसमूहको परिसूचक बढेको छ भने आठ वटा उपसमूहको परिसूचक घटेको छ। त्यस्तै, म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर छ।

यो दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशतले बृद्धि भएको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१३ प्रतिशतले बृद्धि भएको छ ।

यता, वाणिज्य बैंक र विकास बैंक उपसमूहकाे परिसूचकमा उच्च अंककाे गिरावट आएकाे छ । वाणिज्य बैंक उपसमूहकाे उपसूचक २.९४ प्रतिशतले घट्दा विकास बैंक उपसमूहकाे उपसूचक १.१४ प्रतिशतले घट्यो ।

यस दिन कारोबारमा आएका २४७ कम्पनीमध्ये १९१ कम्पनीको मूल्य घटेको स्टक एक्सचेन्जले जनाएको छ ।

यद्यपि, यस दिन ४ कम्पनीको भने मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा यूनिलिभर, कालिन्चोक, उपर लोहोरी खोला र भगवती हाइड्रो पावर रहेको छ ।

मंगलबार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमा शेयर बजार लक्षित कुनै कार्यक्रम ल्याइएको छैन । जहाँ नेपाल स्टक एक्सचेन्ज र सिडीएससीको पूनर्संरचना गरिने बताइएअनुसार अन्य क्षेत्रलाई सम्बोधन गर्ने गरी कुनै कार्यक्रम घोषणा गरिएको छैन । जसले शेयर बजारका लगानीकर्तामा निराशा ल्याएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट