टी २० विश्वकपमा नेपाल कति बलियो ?-Sutra News

टी २० विश्वकपमा नेपाल कति बलियो ?

बुधबार, १६ जेष्ठ २०८१

बुधबार, १६ जेष्ठ २०८१

काठमाडौं । नवौँ संस्करणको टी २० विश्वकप अमेरिका र वेष्ट इण्डिजमा हुने भएसँगै सहभागी हुने सबै देश आयोजक राष्ट्रमा पुगिसकेको छ ।



कूल २० राष्ट्र सहभागी हुने प्रतियोगितामा नेपाल दोस्रोपटक सहभागी हुँदै छ । यसअघि १० वर्षअघि अर्थात सन् २०१४ मा तत्कालीन कप्तान पारस खड्कको कप्तानीमा नेपालले टी २० विश्वकप खेलेको थियो ।

अहिले नेपालले विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका कप्तान रोहित पौडेलको कप्तानीमा सहभागी जनाउँदै छ । पारसदेखि रोहितको कप्तानीसम्म आइपुग्दा नेपाली टोलीसँगै खेलाडीले अनेकौँ विश्व कीर्तिमान बनाएको छ ।

यही कीर्तिमानी टोली र खेलाडीको हौसलामा नेपालले राम्रो नतिजा ल्याउन सक्ने अपेक्षा गरिएको छ । यसबीच नेपालले आफ्नो प्रदर्शनलाई कायम राख्न सके पहिलो चरण पार गरे न्युजिल्याण्ड, वेष्ट इण्डिज, अफगानस्थान, युगाण्डा र पपुवा न्युगिनीम टोलीमध्ये विजेता बनेर अन्तिम आठमा प्रवेश गर्ने दुई देशसँग खेल्न पाउने छ ।

विश्वकपमा सहभागी टोलीमध्ये नेपाल समूह ‘डी’मा परेको छ । यस समूहमा एकपटकको विश्व विजेता श्रीलङ्कासहित नेपाल, साउथ अफ्रिका, बङ्गलादेश र नेदरल्याण्डस् रहेका छन् ।

यो समूहमा रहेको श्रीलङ्का सन् २०१४ मा विजेता बनेको थियो । यही वर्ष नेपालले पहिलो पटक विश्वकपमा सहभागी जनाएको थियो । यस्तै, २००९ र २०१२ मा उपविजेता बनेको थियो । अन्य टोली भने फाइनलसम्म पुग्न सकेको छैन ।

नेपाल कति बलियो ?

नेपाली टोलीसहित रहेको समूह ‘डी’ सबैभन्दा बलियो टोली दक्षिण अफ्रिका हो । टी २० टोलीको र्‍याङ्किङमा दक्षिण अफ्रिका चौथो स्थानमा रहेको छ । यो टोलीभन्दा अगाडि पहिलो स्थानमा नेपालको छिमेकी देश भारत रहेको छ । दोस्रो स्थानमा अष्ट्रेलिया हुँदा तेस्रो स्थामा इंग्ल्याण्ड रहेको छ ।

यस्तै, श्रीलङ्का ८ औँ स्थानमा रहेको छ भने बङ्गलादेश ९ औँ स्थानमा रहेको छ । नेदरल्याण्डस् १५ औँ स्थानमा रहँदा नेपाल १७ औँ स्थानमा रहेको छ । र्‍याङ्किङलाई आधार मानेर हेर्ने हो भने यो समूहमा रहेका टोलीमध्ये नेपाल सबैभन्दा पुच्छारमा रहेको छ ।

यसैगरी विश्वकपमा सहभागी भएको आधारलाई मान्ने हो भने पनि नेपालको अवस्था कमजोर देखिन्छ । टी २० विश्वकपको ९ औँ संस्करणसम्म आइपुग्दा नेपाल दोस्रो पटक सहभागी हुँदै छ ।

यसअघि दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश हरेक विश्वकपमा सहभागी हुँदै आएको छ । नेदरल्याण्डस् छटौँ पटक सहभागी हुँदै छ । जसले गर्दा यी राष्ट्रका खेलाडीहरूलाई विश्वकप खेलेको राम्रो अनुभव रहेको छ ।

यता, नेपाल दोस्रो पटक सहभागी हुँदै गर्दा अधिकांश खेलाडी पहिलो पटक विश्वकपमा सहभागी हुँदै छन् । नेपाली टोलीबाट सोमपाल कामीलाई मात्रै विश्वकप खेलेको अनुभव छ ।

विश्वकपमा अनुभवविहीन खेलाडी हुनु पनि टोली आफैमा कमजोर बन्नु हो । तर, विश्व कीर्तिमान टोलीसँगै खेलाडीहरु भएका कारण नेपालले आफ्नो पक्षमा जित निकाल्न कठिन नहुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट