काठमाडौं । एमाले–माओवादी नेतृत्वको सत्ता समीकरण भत्काउने प्रर्यत्नमा नेपाली कांग्रेस निरन्तर देखिन्छ । कांग्रेसले घोषितरुपमै पनि वर्तमान सत्ता समीकरण अप्राकृतिक भएको बताइरहेको छ ।
यस्तोमा कांग्रेसले प्रदेश तहको सत्ता समीकरण अनुकुल बनाउँदै केन्द्रको समीकरण भत्काउने प्रर्यत्न गरेको छ । जसअनुसार कांग्रेसले मधेश प्रदेशबाट एकीकृत समाजवादीलाई आफ्नो कित्तामा तान्ने प्रर्यत्न गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको विभाजनसँगै मधेशमा एमाले र माओवादीले बेग्लै समीकरण बनाउने प्रर्यत्न गरेका छन् । जनमत र विभाजित जसपालाई समेत मिसाएर सत्ता समीकरण बनाउने प्रर्यत्नमा दलहरु देखिन्छन् ।
जुन समीकरण निर्माणकै लागि दलहरुले जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छन् । जसमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागि छ ।
तर, यहीबीच नेपाली कांग्रेस उक्त सहमतिलाई तोड्दै आफू अनुकुल समीकरण बनाउने प्रर्यत्नमा देखिएको छ । कांग्रेसले लोसपा र एकीकृत समाजवादीलाई आफ्नो कित्तामा ल्याएर केन्द्रमा समेत समीकरण बदल्ने खेल प्रारम्भ गरेको छ ।
कांग्रेससँगै सहमतिअनुसार एकीकृत समाजवादीले हालसम्म पनि जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । सँगै लोसपासमेत जसपा नेतृत्वको सरकारको विरोधमा हुँदा एकीकृत समाजवादीले कित्ता फेरेको छैन । यस्तोमा एकीकृत समाजवादीलाई घोषितरुपमै आफ्नो कित्ता पार्ने लाइनमा कांग्रेस देखिएको छ ।
मधेशमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेश प्रदेशमा चार दल एक ठाउँमा आए बहुमत पुग्छ ।
अर्कोतर्फ, कांग्रेसले एकीकृत समाजवादीलाई आफ्नो कित्तामा ल्याएमा अन्य प्रदेशमा पनि सत्ता समीकरण परिवर्तनको खेल खेल्न सक्छ । अहिले गण्डकी, बागमती र सुदूरपश्चिममा एकीकृत समाजवादीलाई आफ्नो पक्षमा पारेमा सत्ता समीकरण कांग्रेस अनुकुल हुन जान्छ ।