काठमाडाैं । नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफन्तको हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई छोडेको हो ।
थप अनुसन्धानका लागि हिरासतामा राखिरहन नपर्ने जिल्ला सरकारी वकिलको कार्यालयको निर्णयका आधारमा धनुषा प्रहरीले पत्र पठाएपछि उनी रिहा भएका हुन् ।
किर्ते नागरिकता प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरी उनलाई स्थलमार्गबाट धनुषा लगिएको थियो ।
धनुषा जिल्ला प्रहरीमा उनीविरुद्ध उजुरी परेपछि अदालतबाट पूर्जी लिएर जेठ ८ गते साँझ प्रहरीले उनलाई पक्राउ गरेको थियो । तेस्रो पटक म्याद थप पछि उपचारका लागि भन्दै मंगलबार हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।