काठमाडौं । बजेटमा भन्सार दर बढाइएसँगै स्थानीय बजारमा सुनको मूल्य आकासिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नियमित मूल्यमा झण्डै छ हजारले सुनको मूल्य बढेको छ ।
यद्यपि, आज नै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य २० डलरभन्दा बढीले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका दरभाउ निर्धारण कमिटीका संयोजक तेज रत्न शाक्यले बताएअनुसार घटेको मूल्यमा भन्सार दर समायोजन हुँदा मूल्य बढेको हो ।
“यसअघि १५ प्रतिशत भन्सार दर तोकिएको थियो, तर नयाँ बजेटमा ५ प्रतिशत थप गरी २० प्रतिशत भन्सार दर कायम गरियो”, शाक्यले भने, “बजेटलगत्तै भन्सार दरहरु लागु हुने प्रावधानअनुसार मूल्य समायोजन गर्दा सुनको मूल्य बढेको हो, यद्यपि आज नै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ ।”
उनका अनुसार नयाँ भन्सारदर कायम हुँदा सुनको मूल्यमा भन्सार दर मात्रै २६ हजार हाराहारी हुने उनले बताए ।
नयाँ भन्सार दर कायम भएसँगै बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँ थियो ।
सुनको मूल्यमा तिव्र घटबढ भइरहँदा सुनको कारोबार पनि घटिरहेको शाक्यले बताए । सँगै व्यवसायीले भने आफ्नो मार्जिन घटाउन बाध्य भएको उनले बताए ।