काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज पनि सुनुवाइ स्थगित भएको छ ।
सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेशी परेको छ । यसअघि हिजो उक्त रिट न्यायाधीश पोखरेलकै इजलासमा परेको थियो । तर सुनुवाइ भएन ।
न्यायाधीश हुनुअघि पोखरेल लामिछानेका कानूनी सल्लाहकार भएकाले स्वार्थ बाँझिने भएको भन्दै सुनुवाइ नहुने भएको हो । सोमबार अनुपम भट्टराईले लामिछानेलाई गृहमन्त्रीबाट हटाउन माग गर्दै रिट दायर गरेका थिए ।
गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्चका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदिएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।
उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता भएको हो ।