माधवको ‘मुभ’ले बढाएको संशय-Sutra News

माधवको ‘मुभ’ले बढाएको संशय

बिहिबार, १७ जेष्ठ २०८१

बिहिबार, १७ जेष्ठ २०८१

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा नेकपा (एकीकृत समाजवादी) सहभागि भएसँगै सत्ता साझेदारभित्र अर्को चिसो पसेको छ । बुधबार साँझ देउवाले मधेश सरकारको विषयमा छलफल गर्न भन्दै जसपा नेपाल र लोसपासँगै एकीकृत समाजवादीलाई पनि बोलाएका थिए ।



देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा सभापति देउवासहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र र लोसपा अध्यक्ष महन्थ ठाकुर सहभागि थिए । उक्त भेटवार्तामा मधेश सरकारसहित सुदूरपश्चिम र गण्डकी प्रदेश सरकारबारे छलफल भएको बताइएको छ ।

भेटवार्तामा गएका एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले पनि मधेशसहित समग्र राजनीतिकबारे छलफल भएका बताएका छन् । “खास उहाँको स्वास्थ्य अवस्था बुझ्न गएका थियौं, तर सँगै मधेश प्रदेशसहित समग्र देशको अवस्थाबारे छलफल भयो”, चौधरीले भनेका छन् ।

मधेशसहित गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशमा निकै जटिल अंकगणितको अवस्था छ । यस्तोमा यदि कांग्रेसले पहल लिएर साना दललाई मिलाएमा बहुमत जुटाउन सक्छ । सबै प्रदेशमा एकीकृत समाजवादी निकै महत्वपूर्ण संख्यासहित उपस्थित छ ।

सत्ता गठबन्धनभित्र असन्तुष्ट एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि बेला–बेला प्रदेशमा उथलपुथल ल्याइदिने चेतावनी दिँदै आएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको विभाजनपछि मौन देखिएका नेपालले विपक्षी मोर्चासँग गरेको भेटवार्तालाई पनि सोही विषयसँग जोडिएर हेरिएको छ ।

बूढानिलकण्ठ भेटवार्तापछि एकीकृत समाजवादीभित्र पनि असन्तुष्टि देखिएको छ । जुन घटनापछि सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बिहीबार बिहान खनालले झण्डै एक घण्टा जनि प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए ।

बालुवाटारमा भएको भेटवार्ता बूढानिलकण्ठ भेटवार्तामाथि नै केन्द्रीत रहेको बुझिन्छ । सम्मानित नेता खनाल स्वयम्ले पनि सो विषयलाई पुष्टि गरेका छन् ।

“समसामयिक विषयमा, अहिलेको समीकरण, यसको सुद्धढीकरण, प्रदेश तहका विषयबारे छलफल भयो”, प्रचण्डसँगको भेटवार्ताबारे खनालले भनेका छन्, “यही समीकरणलाई बलियो बनाएर लानुपर्छ भन्नेमै केन्द्रीत रह्यौं ।”

बूढानिलकण्ठ भेटवार्ताबारे औपचारिकरुपमा आफू पनि जानकार नरहेको कुरा खनालले बताएका छन् । जुन भेटवार्ताबारे पार्टीभित्र छलफल गराउने उनले बताएका छन् ।

“हाम्रा अध्यक्ष जानु भएको भन्ने सुने तर, पार्टीमा औपचारिक जानकारी छैन, त्यहाँ किन जानुभयो, के छलफल भयो, पार्टीमा छलफल हुन्छ”, उनले भनेका छन् ।

बूढानिलकण्ठ भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले समेत अध्यक्ष नेपालसँग फोन सम्पर्क गरेका छन् । यद्यपि, फोनमा सत्ता समीकरण छाड्दिन भन्ने प्रतिबद्धता अध्यक्ष नेपालले गरेको प्रधानमन्त्रीले बताएका छन् ।

बिहीबार बिराटनगर पुगेका प्रधानमन्त्रीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भने, “ माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ ।”

यद्यपि, अध्यक्ष नेपालकै भनाईलाई हेर्दा वर्तमान सत्ता समीकरणप्रति उनी कत्ति पनि सन्तुष्ट छैनन् । विकल्प खोजिरहेका नेपाल जुनसुकै बेला कित्ता परिवर्तन गर्नसक्ने अवस्थामा देखिन्छन् । प्रदेश समीकरणमा फेरबदलको अभ्यास भइरहेका बेला अध्यक्ष नेपालले कित्ता फिर्नसक्ने सम्भावना बढी नै देखिन्छ । यद्यपि, जसपा नेपालको अवस्था भने दोहोरिन सक्ने सम्भावना पनि उत्तिकै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट