काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण तथा अभिनय गरेको फिल्म ‘बोक्सीको घर’ हेर्न सिनेमा हलमा दर्शकहरुको ताती लाग्यो । फिल्म यति धेरै चल्नुको पछाडी यसले उठाएको विषयवस्तु पनि प्रमुख कारण होला ।
तर, यो फिल्म रिलिज हुनु अगाडी नै यो फिल्मको मर्म बोल्ने एउटा गीत रिलिज भएको थियो ‘बुझिन मैले, बुझाईदेउ कसैले ।’ यो गीत यति धेरै चल्यो कि यो फिल्ममा दर्शक ओइरिनुको पछाडी यो गीतको सफलतालाई पनि कारण मानिन्छ । धेरैलाई लाग्दो हो– यति हिट गीत रच्न पक्कै निकै समय लाग्यो होला ! तर, पछिल्लो समय निकै रुचाइएका लोक गायक प्रकाश सपुतको शब्द तथा संगीत रहेको यो गीतको कन्सेप्ट उनले ४५ मिनेटभित्रै सकाएको बताएका छन् ।
एक टेलिभिजन अन्तरवार्तामा प्रकाशले केकीसँग ‘बदला बरिलै’ गीतमा सहकार्य गरेपछि ‘बोक्सीको घर’का लागि एउटा कमर्सियल गीत बनाइदिन प्रस्ताव आएको खुलाएका छन् । ‘हामीले केकीजीलाई लिएर बदला बरिलै भन्ने गीत गरेका थियौं, त्योभन्दा अगाडी फिल्म पनि गरिसकेका थियौं,’ प्रकाशले गीतको रचना गर्भ सुनाए, ‘‘कोभिडका कारण फिल्मको काम रोकिएको थियो र कोभिडपछि मेरो पहिलो गीत थियो– बदला बरिलै । सबै जनाले यस्तो खालको कन्टेन्ट पनि मान्छेहरूसँग रिलेट हुने रहेछ है भन्ने भइसकेपछि केकीजी को दिमागमा चाँही ‘ओ हो यस्तो कन्टेन्टमा फिल्म पनि बनाउन सकिने रहेछ है’ भन्ने भयो । त्यसपछि उहाँले कथा खोजेर त्यसको वान लाइन आइडिया र स्क्रिप्ट पनि पठाउनु भएको थियो जस्तो लाग्छ । त्यसपछि उहाँले एउटा कर्मिसियल गीत बनाइदिन आग्रह गनुभयो । त्यस्तो गीत जुन फिल्मको कथासँग सम्बन्धित पनि होस्, सँगसँगै अलिकति कमर्सियल पनि होस् । ’
त्यसपछि प्रकाशको कार्यालयमा केकीसँग छलफल भयो । प्रकाशको बानेश्वरमा रहेको अफिसबाट टोखामा रहेको घरसम्म जान उनलाई ४५ मिनेट लाग्छ । त्यही क्रममा गीतको कन्सेप्ट बनाएको उनी बताउँछन् । ‘यहाँ बानेश्वर अफिसबाट टोखा जानलाई ४५ मिनेट लाग्थ्यो,’ प्रकाशले सम्झिए, ‘त्यही बीचमा मैले सोच्दै गएँ। घर गएर गीतको वान लाइन बनाए ‘बुझिन मैले बुझाइदेऊ कसैले…’।
त्यसपछि केकीले फिल्मको क्यारेक्टरहरू देखाइन् । टिजर फोटोहरू देखाइन् । फोटोमा बच्चाले सिन्दुर–पोतो लगाएको छ । बिहेको बेला ऊ खुशी देखिुनुपर्ने हो तर ‘कन्फ्यूज्ड’ देखिन्छ । ‘२० वर्ष पुगिसकेपछि एउटा युवतीसँग बिहे गर्ने सपना हुन सक्छ, प्रकृतिले नै उनीहरूलाई सिन्दूर डोलीसहित त्यो सपना देखाउन थालेको हुन्छ,’ प्रकाश भन्छन्, ‘तर बच्चालाई त थाहा हुँदैन नि । सिन्दूर लगाएको छ, पोते लगाएको छ, डोलीमा चढेको छ । यो सबै नयाँ कुरा पाउँदा खुसी नि लागिरहेको छ तर उसको दिमागमा केही पनि पसेको छैन । आखिर भइरा’चाँही के हो लाइफमा ? फिल्मको यो थिम बुझेपछि त्यहीअनुसार गीत बनाएको हुँ ।’
फिल्मको यो थिम बुझेपछि प्रकाशले केकीलाई घर पुगेर भने, अब तपाईंको फिल्म समग्रमा कस्तो छ, के बुझाउन खोज्नु भएको छ, मलाई थाहा छैन । तर मैले गीतचाँही प्रश्न गर्ने हिसाबले बनाउने सोचेँ ।’
‘उत्तर दिने जिम्मा दर्शकलाई दिऔं । पात्रमार्फत हामीचाँही दर्शक, यो व्यवस्था र समाजलाई सबै सोधौं न– ‘यो बाँधिएको हो कि, म सजिएको हो ?,’ प्रकाशको गीतको कथा सुनाउँदै भने, ‘केकीजीले अँ हुन्छ, ठिकै लाग्यो भनेर सहमति जनाउनुभयो । त्यसपछि मैले मलाई २ दिन जतिचाँही शब्दहरू फुराउनै लाग्यो । कन्सेप्टचाँही ४५ मिनेटमै बनेको थियो ।’ यो गीतलाई अहिलेसम्म युट्युबमा दुइ करोड १४ लाखभन्दा बढीपल्ट हेरिएको छ । गीतमा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।