काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नवौँ संस्करणको टी २० विश्वकप नजिकिएको छ ।
विश्वकपमा सहभागी २० देशसहित क्रिकेट पारखीहरु ब्यग्र प्रतीक्षामा छन् । यसैबीच आईसीसीले खेल प्रत्यक्ष देखाउने प्रत्यक्ष प्रसारक (ब्रोडकास्टर्स)को टुंगो लागेको छ ।
खेल भारत, पाकिस्तान, अमेरिका, क्यानडा, इंग्ल्याण्डसहित देशहरूमा विभिन्न माध्यमबाट हेर्न पाइने छ । यसबाहेक विश्वभरबाट आईसीसी टिभीबाट हेर्न सकिन्छ ।
भारतमा स्टार स्पोर्ट्सले विभिन्न भाषामा प्रत्यक्ष खेल हेर्न पाइने छ । पाकिस्तानमा पीटीभी र टेन स्पोर्ट्स, अमेरिका र क्यानडामा विलोटिभीबाट खेल हेर्न सकिन्छ ।
इंग्ल्याण्डमा स्काई स्पोर्ट्स, स्काई स्पोर्ट्स क्रिकेट, स्काई स्पोर्ट्स मेन इभेन्ट, स्काई स्पोर्ट्स एक्सन र स्काइगो, नाउ र स्काई स्पोर्ट्स एपबाट प्रत्यक्ष हेर्न पाइने छ ।
अष्ट्रेलियामा अमेजन तथा न्यु जिल्याण्डमा स्काई स्पोर्ट एनजेटबाट प्रत्यक्ष हेर्न पाइने छ । दक्षिण अफ्रिका, युगान्डा र नामिबियामा सुपरस्पोर्टबाट हेर्न सकिन्छ ।
यूएई र यस क्षेत्रमा स्टार्जप्ले, क्रिकलाइभम्याक्स र क्रिकलाइभम्याक्स २ बाट हेर्न पाइन्छ भने श्रीलंकामा टीभी १, सिरासा र शक्ति टिभीले विश्वकप देखाउने छन् ।
नेपालमा विश्वकप हेर्नका लागि कुनै आधिकारिक माध्यम छैन । तर आईसीसीकै आईसीसी टिभीबाट प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । यस्तै, भारतीय च्यानलबाट नेपालीले विश्वकप हेर्न सक्ने छन् ।
यस पटकको विश्वकपमा २० अन्तर्राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्दै छन् । जसमा नेपाल दोस्रो पटक खेल्न लागेको हो । समूह डीमा रहेको नेपालसँग दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेको छ ।