काठमाडौं । आगामी जेठ २५ गतदेखि प्रदर्शन हुने तयारीमा रहेको छ- फिल्म ‘लण्डन टु पेरिस’ । घनश्याम लामिछाने निर्देशित फिल्ममा नायिका साम्राज्ञी आरएल शाह, नायक निश्चल खड्का, कविर खड्का र गरिमा शर्माको मुख्य भूमिका छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।
ट्राभल लभस्टोरीको कथा पेस गर्ने यो फिल्मलाई दर्शकले मन पराउनेमा कलाकार र निर्देशक ढुक्क देखिएका छन् । रिलिज मिति नजिकिएसँगै फिल्मको प्रचार प्रसार समेत तीव्र बनाइरहेका उनहरूले ‘लण्डन टु पेरिस’ हरेक व्यक्तिको जिन्दगीसँग नजिक रहेकाले दर्शकले मन पराउनेमा आफूहरू विश्वाससँगै ढुक्क रहेको बताउँछन् ।
निदेशक लामिछानेले लभस्टोरी भए पनि काल्पनिकभन्दा पनि हरेक व्यक्तिले भाग्ने र भोगिरहेका घटनाबाट धेरै पर फिल्म नरहेका कारण धेरैको रोजाइमा पर्ने बताएका छन् ।
उनले भने, ‘हाम्रो फिल्ममा ६ जना कलाकार छन्, उनीहरु एकआपसमा मजाले कनेक्सन हुन्छन्, कथा राम्रो भएकाले पनि थप सहज भएको छ, कथालाई न्याय दिनेगरी भिजुअल तयार भएको छ, त्यसैले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको छु, व्यापार कति गर्छ मलाई थाहा छैन । तर दर्शकले सिनेमा रुचाउनेमा म ढुक्क छु ।’
उनी आफ्ना अघिल्ला फिल्म ‘धौली’ र ‘पञ्चेबाजा’ जस्तै राम्रो छाप छोड्ने बताउँछन् । ‘अक्सर फिल्ममा ‘डायस्पोरा’को कथा देख्न नमिल्ने भएकोले पनि ‘लण्डन टु पेरिस’ दर्शकका लागि नौलो स्वाद हुन सक्छ, बेलायतको लन्डनदेखि फ्रान्सको पेरिससम्मको यात्रामा हुने प्रेम र त्यस वरपर घुम्ने सम्बन्धको उतारचढाव फिल्ममा देख्न सकिने छ,’ उनले भने ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘लण्डन टु पेरिस’ आफ्ना लागि कमब्याक नभएको तर आफ्ना लागि पनि नौलो रहेको बताइन् ।
साम्राज्ञी भन्छिन्, ‘यो फिल्म पूर्णत लभस्टोरी छ, निर्देशकले तपाईंजस्तै फिल्मको क्यारेक्टर छ भनेर भन्नुभएको थियो, अहिलेको युवा पुस्ता जसरी धेरै रिलेसनमा बस्छ, इगो लिएर बस्छ, धेरै सोच्छ त्यस्तै क्यारेक्टर छ मेरो, अलि अलि मेरै जीवन कथासँग पनि मिल्छ होला । तर सबै होइन । आफू २६ वर्षको हुँदा फिल्म साइन गरेको रिलिज हुने बेलासम्म उमेर २८ लाग्यो ।’
उनले फिल्म रोमान्टिक र इन्टरटेनिङ रहेकाले राम्रो हुने र दर्शकले मन पराइदिनेमा आफ्नो विश्वास रहेको बताएकी छन् । ‘मलाई थाहा छ, यो राम्रो फिल्म हो । तर करिअरमा के अर्थ राख्छ भनेर मैले त्यसरी सोचेको छैन । तर, यो हाम्रो पुस्ताले देख्दै र भोग्दै आएको प्रेम कथा हो’, उनले भनिन् ।
यस्तै, साम्राज्ञीले आफूलाई लभस्टोरी जानराबाटै अफर आउने र त्यसभित्रैबाट छानेर फिल्म गर्ने गरेको बताइन् । तर आफूलाइ अरु जानराका फिल्ममा फरक फरक क्यारेक्टर पनि गर्ने रहर रहेको उनको भनाइ छ ।
डेब्यू नायक निश्चल खड्काले दुई वर्षपछि फिल्म रिलिज हुन लागेको भन्दै ठूलो अपेक्षा रहेको बताए । उनले भने, ‘मलाई राम्रो काम भएजस्तो लागेको छ । कामअनुसारको प्रतिक्रिया आउँछ भन्ने अपेक्षा छ।’
साम्राज्ञी र गरिमासँग आफ्नो केमेस्ट्री मिलेको बताउँदै निश्चलले अभिनेत्री साम्राज्ञीबाट आफूले सेटमा धेरै कुरा सिकेको बताएका उनको सहयोगी भावनाबाट आफूलाई काम गर्न सहज भएको स्मरण गरे ।
अर्का नायक कबिर खड्काले आफ्ना लागि फिल्म महत्त्वपूर्ण रहेको बताउँदै नेपाल बाहिर छायांकन भएकाले केही सुरुमा केही असहज भएपनि आफूले सकेको मिहिनेत गरेको बताए । आफू पहिलोपटक यही फिल्मका लागि विदेश गएको भन्दै केही चुनौतीको भने सामना गर्नुपरेको उनको भनाइ छ ।
कबिर भन्छन्, ‘फिल्मको छायांकन सुरु भएको धेरै वर्षपछि रिलिज हुन लागेछ । तर पनि कथा पुरानो भने भएको छैन । त्यसैले दर्शकको मन फिल्मले जित्छ।’
यस्तै, उनले आफ्नो भागमा उत्कृष्ट फिल्म परेको भन्दै फिल्ममा दुई अभिनेत्रीसँग रोमान्स रहेको खुलाए । लवजलगायत केही कुरा आफ्ना लागि चुनौती रहेको तर त्यसमा पनि आफूले काम गरेको उनको भनाइ छ । ‘बाहिर बसेको युवाको लवजमा काम गर्नुपर्ने थियो । त्यो मेरा लागि चुनौती थियो,’ उनले स्मरण गरे ।
डेब्यू नायिका गरिमा शर्माले ‘लण्डन टु पेरिस’ मार्फत उद्योगमा झन्डा गाड्ने र आफूलाई धेरै अगाडिसम्म पुर्याउने बताइन् । उनले भनिन्, ‘आफ्ना लागि डेब्यु फिल्म भएकाले आफूले फरक अनुभव गरे, गीतमा काम गर्दा अरुको आवाजमा लिप्सिङ मात्रै गर्दै आएकोमा यहाँ इमोसन होल्ड गरेर अभिनय गर्नुथियो, यो पहिलोपटक भएकाले पनि मलाई केही कठिन थियो, तर सबैको सहयोगले गरेँ ।’
यो फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ ।
अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।
फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।
फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले नेपालभर वितरण गर्नेछन् ।