काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबारको दिनको तुलनामा एक हजार सात सय रुपैयाँले बढ्दै शुक्रबार मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
सरकारले नयाँ बजेटमार्फत सुनको मूल्यमा भन्सारदर २० प्रतिशत लगाउने घोषणा गरेको थियो । बजेटमा घोषणा गरिएअनुसार बिहीबारदेखि व्यवसायीहरुले भन्सार दर समायोजन गरेका थिए । जसअनुसार मूल्य पनि ह्वात्तै बढेको हो ।
सँगै अन्तराष्ट्रिय बजारमा पनि शुक्रबार सुनको मूल्य बढेको महासंघले जनाएको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड कायम भइरहँदा चाँदीको मूल्य भने घटिरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबारको तुलनामा तोलामा २५ रुपैयाँले चाँदीको मूल्य घटेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको छ ।