निदाएको नेपाल टेलिकम, गुमाउँदै छ इन्टरनेट सेवामा प्रतिस्पर्धीको हैसियत-Sutra News

निदाएको नेपाल टेलिकम, गुमाउँदै छ इन्टरनेट सेवामा प्रतिस्पर्धीको हैसियत

शुक्रबार, १८ जेष्ठ २०८१

शुक्रबार, १८ जेष्ठ २०८१

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०८० चैतसम्म ३२ लाख ४९ हजारले फिक्स ब्रोडव्यान्ड इन्टरनेट सेवा जोडेका छन् । जसमध्ये सबैभन्दा बढी वल्र्डलिंक कम्युनिकेसन्सका प्रयोगकर्ता रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार इन्टरनेट सेवा जोड्ने कुल प्रयोगकर्तामध्ये २७ प्रतिशत अर्थात् आठ लाख ९९ हजार वल्र्डलिंकका प्रयोगकर्ता छन् ।



वल्र्डलिंकपछि सबैभन्दा धेरै डिस मिडिया नेटवर्कका प्रयोगकर्ता छन् । प्राधिकरणका अनुसार फिक्स ब्रोडव्यान्ड इन्टरनेट सेवा लिएकामध्ये डिस मिडिया नेटवर्कमा मात्रै तीन लाख ६२ हजार प्रयोगकर्ता छन् । जुन समग्र प्रयोगकर्तामध्येमा ११ प्रतिशत हो ।

सबैभन्दा धेरै प्रयोगकर्ता भएको कम्पनीमा पर्ने डिस मिडिया तीन वर्ष अगाडि मात्रै सञ्चालनमा आएको कम्पनी हो । प्रभु समूहको ‘प्रभु डिजिटल’ र डिस मिडियाको ‘फाइबर नेट’ मिलेर मिलेर २०७७ मा डिस मिडिया नेटवर्क बनेको थियो । जसअघि दुवै कम्पनीको केही सिमित हजारमा मात्रै ग्राहक थिए । तर, डिस मिडिया नेटवर्क बनेसँगै कम्पनीको बजारमा आक्रामक उपस्थिति देखिन्छ ।

तीन वर्ष अगाडि उदाएको कम्पनीले बजारमा आक्रामक उपस्थिति जनाइरहँदा विगत केही वर्ष अगाडिसम्म मुख्य प्रतिस्पर्धी मानिएको नेपाल टेलिकम भने क्रमशः हराएको छ । २०८० चैतसम्म आउँदा ग्राहक संख्याका आधारमा भायोनेट कम्युनिकेन्सन तीन लाख २५ हजार र क्लासिक टेक तीन लाख आठ हजारसहित क्रमशः तेस्रो र चौथो ठूलो कम्पनी बनेका छन् । जहाँ नेपाल टेलिकम भने पाँचौ कम्पनीमा सीमित भएको छ । चैतसम्म फिक्स ब्रोडव्यान्ड इन्टरनेट प्रयोकर्ताको संख्या जम्मा दुई लाख ९३ हजार मात्रै छ ।

बढ्नुको साटो घट्दैछन् टेलिकमका ग्राहक

पाँच वर्ष अगाडि २०७५ चैतमा नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ताको संख्या दुई लाख ३२ हजार थियो । सोही समय अहिलेको सबैभन्दा बढी ग्राहक संख्या भएको वल्र्डलिंक कम्युनिकेसन्सको ग्राहक संख्या दुई लाख ८६ हजार थियो । उक्त वर्ष टेलिकमको भन्दा वल्र्डलिंकको ग्राहक संख्या ५४ हजारले मात्रै फरक थियो ।

तत्कालिन समय कुनै पनि अन्य कम्पनीले ग्राहक संख्या एक लाख पनि पुर्‍याएका थिएनन् । तर, पछिल्लो पाँच वर्षको बीचमा केही हजार ग्राहक भएका कम्पनीले पनि लाखौंमा ग्राहक संख्या पुर्‍याएका छन् भने डिस मिडिया नेटवर्क जस्ता नयाँ कम्पनीले मुख्य प्रतिस्पर्धी बन्दै बजारमा प्रभाव जमाइरहेका छन् ।

यद्यपि, योबीचमा सरकारी लगानीको नेपाल टेलिकमको भने ग्राहक संख्या करिब उस्तै छ । बरु २०७८ को चैतको तुलनामा ग्राहक संख्या घटेको छ ।

२०७८ चैतमा दुई लाख ९८ हजार ग्राहक पुर्‍याएको टेलिकमको २०८० चैतसम्म आइपुग्दा ग्राहक संख्या जम्मा दुई लाख ९३ हजार कायम भएको छ ।

किन निदाएको टेलिकम ?

नेपाल टेलिकम सुस्त भयो भन्ने टिप्पणीलाई भने टेलिकमका जिम्मेवार कर्मचारी स्वीकार गर्ने पक्षमा छैनन् । टेलिकम बजार विस्तारभन्दा गुणस्तर विकासमा लागिरहेको कर्मचारीहरुको दाबी छ ।

“हामी निदाएको होइन, योबीचमा नेटवर्क विस्तारको काममा हामी लाग्यौं, अहिले लगभग सबैतिर विस्तार भइसकेको छ, अब हाम्रो मिसन डिष्टिब्यूसनमै हो”, टेलिकमका सहायक प्रवक्ता प्रमात्मा भट्टराई भन्छन्, “अब केही समयभित्रै नतिजा देखिन्छ, हामी अरुभन्दा व्यवस्थित शैलीमा अगाडि बढ्दैछौं ।”

यद्यपि, टेलिकमको सेवा राम्रो नरहेको बुझाईले पनि केही समस्या बनाएको कुरालाई भने भट्टराई स्वीकार गर्दछन् । “सरकारी हो, टाइममा मर्मत हुँदैन, भन्ने रह्यो, जसलाई चिर्नुपर्नेछ”, उनले भने, “यद्यपि, हामीले सेवाको गुणस्तरलाई निकै राम्रो बनाएका छौं, मर्मत सम्भार पनि पहिलाको जस्तो छैन, अब ग्राहकलाई बुझाउन सके हामी धेरै अगाडि बढ्न सक्छौं ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट