काठमाडौं । बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोराको प्रेम सम्बन्धबारे निकै चर्चा हुने गर्छ। लामो समयदेखि प्रेम सम्बन्धमा रहेर बलिउडको प्रेम जोडी रूपमा चिनिएका उनीहरूले ब्रेकअप गरेका छन् ।
आफूहरूको सम्बन्धबारे खुलेआम स्वीकार्दै आइरहेका अर्जुन र मलाइकाले ‘सम्मानजनक’ ढंगले प्रेम सम्बन्ध टुंग्याएको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम पिंकभिल्लाले जनाएको छ ।
कतिपयले भने उमेरकै कारण मजाक बनाएर उडाए पनि उदाहरणीय जोडीको रुपमा चर्चित उनीहरूको अब छिटै विवाह होस् भन्ने चाहन्थे फ्यान । कसरी प्रेम सबै बाधाहरू विरुद्ध खडा हुन सक्छ र मानिसहरूको मन जित्न सक्छ भन्ने उदाहरण बन्न सफल भएको यो प्रेमिल जोडीको यतिबेला प्रेम सम्बन्ध असफल हुन पुगेको छ ।
पिंकभिल्लालाई विशेष स्रोतले दिइएको जानकारी अनुसार ‘मलाइका र अर्जुनको धेरै विशेष सम्बन्ध थियो र दुवैले एक अर्काको हृदयमा विशेष स्थान राख्नेछन् । उनीहरूले अलग हुने बाटो रोजे पनि यस विषयमा मर्यादित मौनता कायम राख्नेछन् । अलग हुने निर्णय गरे पनि उनीहरूले एक अर्कालाई समान सम्मान दिनेछन् । प्रेमिल जोडीले दुर्भाग्यवश अलग हुने निर्णय गरे पनि उनीहरूले एक अर्कालाई दिने समान जारी राख्नेछन्।’
उसो त अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि नै सुरु भएको थियो । जब उनीहरू एकसाथ एक फेसन शोमा सँगै देखिए । मलाइकाको ४५ औँ जन्मदिनमा उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिक गरे । अर्जुनसँग प्रेममा रहेपछि मलाइकाले श्रीमान् अरबाज खानसँग डिभोर्स गरेकी थिइन् । यसपछि यो जोडीले निर्धक्कसँग आफूहरुको सम्बन्धलाई सार्वजनिक रुपमा नै प्रस्तुत गर्दै आएको थियो ।