काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशंका, उपशंका नगर्न आग्रह गरे ।
वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राखेकाे जिज्ञाशामा प्रधानमन्त्री प्रचण्डले भने, ‘माधवजी उता गएको भन्ने कुरा केही होइन, उहाँ मेरै सल्लाहमा जानु भएको हो, विपक्षी अलाइन्स बनाउन जानु भएको होइन ।’
प्रधानमन्त्री प्रचण्डले सरकार दायाँबायाँ हुन्छ कि भन्ने कुनै आशंका नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सरकार दायाँबायाँ हुन्छ कि भन्ने कुनै आशंका गर्नु पर्दैन । सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।’
आफूले पनि केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै उनले दलका नेताहरुबीच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताएका छन् ।
संसदीय दलकाे बैठकमा प्रचण्डले बजेटमाथिको छलफलमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन पनि दिएका छन् । बैठकमा आइतबारदेखि बजेटसम्बन्धी छलफल र संसद्मा रहेका महत्वपूर्ण विधेयकलाई पनि सँगसँगै अघि बढाइने कुरा प्रधानमन्त्रीले जनाएका छन् ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटका मुख्य विषयवस्तु बारे जानकारी गराएकाे माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार बजेटमा पार्टीले दिएको सुझाव तथा जनआकांक्षा समेटिएको बताएका थिए । बैठकमा १२ सांसदले बजेटका सबन्धमा टिप्पणी गरेकाे उनले बताए ।