बूढानिलकण्ठ बैठकको तरंग : प्रचण्ड र ओलीले माधवसँग गरे छलफल-Sutra News

बूढानिलकण्ठ बैठकको तरंग : प्रचण्ड र ओलीले माधवसँग गरे छलफल

शुक्रबार, १८ जेष्ठ २०८१

शुक्रबार, १८ जेष्ठ २०८१
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो ।



भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको एमाले अध्यक्ष केपी शर्माले ओलीले जानकारी दिएका छन् । ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो’, भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने ।

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा अध्यक्ष नेपाल सहभागी भएका थिए । जसपा नेपाल र लोसपाका नेताहरु सहभागी बैठकमा अध्यक्ष नेपाल सहभागी भएपछि सत्ता समीकरणभित्र तरंग उत्पन्न भएको थियो ।

अध्यक्ष नेपालको उक्त भेटलाई सत्ता साझेदार दलहरुले आशंकापूर्णरुपमा हेरेका थिए ।

बूढानिलकण्ठ भेटलगत्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै सत्ता समीकरणलाई अप्ठ्यारोमा नपार्ने आश्वासन दिएका थिए । उनले सार्वजनिकरुपमै अध्यक्ष नेपालको गतिविधिमाथि प्रश्न उठाएका थिए ।

जुन घटनाक्रमका बीच प्रचण्ड र ओलीले नेपालसँग छलफल गरेका हुन् । बालुवाटार स्रोतले जनाएअनुसार अध्यक्ष नेपालको गतिविधिप्रति दुई नेताले असन्तुष्टि जनाएका छन् । यद्यपि, अध्यक्ष नेपालले सामान्य छलफल भएको भन्ने प्रतिक्रिया दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट