काठमाडौं । अल हिलालले किङ कपको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै किङ कपको उपाधि जितेको हो ।
यसअघि निर्धारित ९० मिनेटको खेल निकै रोमाञ्चक बनेको थियो । १-० गोलले पछि परेको अल नासरले खेलको ८८ औँ मिनेटमा बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा खेलाइएको थियो ।
अल हिलालका लागि खेलको सातौँ मिनेटमा अलेक्जाण्डर मिट्रोभिकले गोल गरेका थिए । अल नासरका लागि आयम्यान याहाले बराबरी गोल गरेका थिए ।
यस खेलमा तीन खेलाडीले रातो कार्ड पाए । खेलको ५६ औँ मिनेटमा अल नासरका डेभिड ओस्पिनाले रातो कार्ड पाएका थिए भने खेलको ८७ औँ र ९० औँ मिनेटमा अल हिलालका अलि अल्बूलायहि र कालीडोउ कोउलिबालीले रातो कार्ड पाएका थिए ।
३० मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टी सुटआउटमा अल हिलाल ५–४ ले विजयी हुँदै उपाधि जितेको थियो ।
यो अल हिलालको लगातार दोस्रो र समग्रमा ११ औँ किङ कपको उपाधि हो । अल नासरले भने अहिलेसम्म १५ पटक फाइनल खेले पनि ६ पटक उपाधि जितेको छ ।