यसकारण केकीसँग रिसाएकी छन् ‘बोक्सीको घर’की सासु, भन्छिन्– यति सेल्फिस नबन्नु है, नानी-Sutra News

यसकारण केकीसँग रिसाएकी छन् ‘बोक्सीको घर’की सासु, भन्छिन्– यति सेल्फिस नबन्नु है, नानी

शनिबार, १९ जेष्ठ २०८१

शनिबार, १९ जेष्ठ २०८१

काठमाडौं। ‘बोक्सीको घर’ हेर्नुभएको छ भने पक्कै ‘नोटिस्ड’ गर्नुभएको होला, केकीकी सासु बनेकी रमा थपलियालाई । केकीले निर्वाह गरेको पात्रको नाम भने जुनु छ । केकीको पात्रले सासुबाट हिंसा खेपिरहेकी छन् । रिलमा त सासु–बुहारीको सम्बन्ध राम्रो छैन–छैन, रियलमा समेत यि दुइबीच सम्बन्ध चिसिएको पाइएको छ।



केकीसँग रमाका अनेक चित्तदुखाई छन् । व्यवसायिक रुपमा फिल्म सफल भएपछि एक साताअघिमात्रै आफूले केकीलाई फोन गर्दा कुनै रेस्पोन्स नगरेको उनले बताइन् । ‘सँगै मेहेनत गरेपछि अन्तिम सम्म साथ हुनुपर्छ,’ रमा गुनासोको पोका फुकाउँदै भन्छिन्, ‘त्यतिमात्र होइन, नानी फिल्म चल्यो, बधाई दिन्छु भनेर मैले फोन गर्दा पनि उठेन । एक हप्ताअघि फोन गर्दा उठेन, पुरा घण्टी गयो तर फोन उठेन अनि चित्त दुख्ने कुरा भएन त ?’

त्यसो त फिल्मको रिलिजअघि केकी प्रचारमा दौडिरहँदा रमा कतै देखिएकी थिइनन् । न हलमा दर्शकको ओइरो लागेपछि फिल्म हलमा नै देखिइन् । किन कतै देखिइनन् त उनी ?

‘‘यस्तो भयो, मलाई एक पटक केकी नानीले बोलाएको हो । त्यतिखेर म ‘ठूले’को सुटिङको लागि बनेपा जाँदै थिएँ, कोटेश्वर पुगिसकेको थिएँ,’ रमा प्रष्ट पार्दै भन्छिन्, ‘केकीले इन्टरभ्यू दिनुप¥यो, हजुर आउनुपर्यो भनकी थिइन् । मैले सुटिङका लागि जाँदैछु, बाटोमा छु, यहाँ आएर फर्किन मलाई पनि गाह्रो हुन्छ भनेर जवाफ फर्काएको थिएँ । बरु म फर्किएपछि ईन्टरभ्यू दिम्ला, अरु के–के गर्नुपर्छ, गरुम्ला भनेकी थिएँ । खै उँहाले के सोच्नु भयो, त्यसपछि बोलाउनु भएन।’

त्यसपछि एकैपटक उनी फिल्मको प्रिमियरमा पुगिन् । प्रेसमिटमा कतै बोलाइएन उनलाई । ‘इच्छा त थियो आफूले गरेको कामबारे बोल्ने तर बोलाइएन,’ उनको चित्तदुखाई छ ।
फिल्मको ‘बुझिन मैले, बुझाईदेउ कसैले’ बोलको गीत हिट भएपछि केकीले एकपटक रमालाई फोन गरेर भनेकी थिइन्, ‘दिज्यू हजुरलाई बधाई छ ।’ बधाईको कारणबारे सोध्दा गीत हिट भएको भन्दै खुशी साटेकी थिइन् । ‘त्यतिबेला मैले तिमिलाई पनि बधाई छ भनेकी थिएँ । अनि म फर्के पछि यसरी यसरी इन्टरभ्यू दिनुपर्छ भनेकी थिएँ । तर उहाँले बोलाउनु नै भएन, ’ केकीसँग रमाको चित्तदुखाई यतिमै सकिँदैन ।

‘हामी दाप्चा भन्दा तल त्यो साङ्गदे खोला कि के भन्ने ठाउँमा गएर ६ देखि ७ दिनसम्म बसेर सुटिङ गरेर आयौँ । त्यसपछि हामी पाँचखालमा गयौँ, पाँचखालमा पनि हामीले त्यहीँ बसेर सुटिङ गर्यौँ, ’ रमा थप भन्छिन्, ‘फिल्ममा हाम्रो पनि दुख मिहेनत त्यति नै छ । त्यतिमात्र हैन कोठामा लिएर सिकाउनलाई वर्कसपमा आउन भनियो । त्यसबारे मलाई थाहा पनि थिएनँ, हाम्रो पालामा त्यस्तो हुँदैन पनि थियो । मैले ‘नानी मलाई त्यस्तो वोर्कसप गर्नुपर्दैन’ पनि भनेँ । तर, केकीले टाइम दिनु भनेपछि २–४ दिन उनको लागि त्यहाँ पनि गएँ । ’

केकीका लागि आफूले त्यतिसम्म साथ दिएको तर उनले फिल्म हिट भएपछि मतलब नगरेको उनको गुनासो छ । ‘तर, उहाँले काम सकिएपछि बोलाउनुभएन, नराम्रो त लागिहाल्छ नि !,’ रमा भन्छिन्, ‘अहिले फिल्म हिट भयो, अनि हिट भएपछिचाँही वास्तै नगरेपछि चित्त त दुखि हाल्छ नि ! सबै टिमको मेहेनत बराबर छ तर अहिले त्यस्तो गर्दा जो कोहीलाई पनि नराम्रो लागि हाल्छ नि, मलाई मात्र हैन जो कसैलाई पनि लाग्छ । ’

केकीबारे यति धेरै गुनासो पोखेपछि हामीले अन्त्यमा सोध्यौं– केही छ केकीलाई भन्ने ?

जवाफमा उनले भनिन्, ‘केही पनि छैन । त्यस्तो सेलफिस चै नबन्नुस् है नानी, त्यही हो । ’

अधिकांश नेपाली फिल्मको प्रमोशनताका पाका कलाकारलाई प्रचारमा हिँडाइदैन । कथित हिरो–हिरोइनमात्रै फिल्म प्रमोशनको हतियार मानिन्छ । तर, यसले फिल्ममा महत्वपुर्ण भूमिकामा रहेका अन्य सहायक पात्रहरुलाई कत्ति चित्तदुख्ने रहेछ, रमाको गुनासोबाट पनि केही बुझ्न सकिन्छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट