काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलसँग परामर्श नगरेको आरोप लगाए ।
ओलीले बजेट अर्थमन्त्री र नेकपा माओवादी केन्द्रप्रति ढल्किएको आरोप लगाए । ‘यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो,’ उनले भने, ‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ, यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भीर त्रुटि भएका छन् ।’
ओलीले सांसदहरूलाई निर्देशन दिँदै बजेटमा रहेका कमजोरी औँल्याउन निर्देशन दिएका छन् । उनले भने, ‘बजेटमा रहेको कुनै पनि कमजोरी औँल्याउनै हुँदैन भन्ने होइन, बजेटमा रहेको कमी माननिय ज्यूहरूले आफ्नो क्षेत्र र जिल्लामा प्रदेशमा हिजोको र आजको के कमी कमजोरी छ ? के हुनु पर्थ्यो ? के अझै घट्यो ? यस्ता कुरामा प्रश्न उठाउन सक्नु हुन्छ ।’
बजेटमा कमजोरी भए पनि पारित गर्नु पर्ने अवस्था रहेको उनको भनाइ थियो ।