काठमाडौं । हिमाली जिल्ला मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु भएको छ ।
जसमा छायाँनाथ रारा नगरपालिका १२ का १९ वर्षीय सुमन बुढा, मन बहादुर बुढा र कम्फा गाउँका २१ वर्षीय शोभान बुढा लेक लागेर मृत्यु भएको हो ।
उनीहरूसँगै सिकिस्त बिरामी भएका राज बहादुर साँवतको पनि शनिबार दिउँसो ठूलो कोइकी पाटनबाट मुगु गाउँतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी बल मुगुका जवान तिलक बढुवाल जानकारी दिए ।
योसँगै मुगुमा यार्सा टिप्न गएका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्र थापाले बताए । मृतक तीनै जना एउटै वडा १२ नम्बरका स्थानीय युवा हुन् ।
उच्च हिमाली पाटनमा पाइने बहुमूल्य, यार्सागुम्बा टिप्नका लागि पाटन पुगेकामध्ये आधा दर्जन संकलकहरूको लेक लागेर, लडेर, हिउँ पहिरोमा परेर मृत्यु हुने गरेको छ ।
गत वर्ष यार्सा टिप्न मुगुका पाटनमा पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको खोला खसेर मृत्यु भएको थियो । पाटनमा सुरक्षा टोली र स्वास्थ्य टोली निश्चित ठाउँमा बस्ने तर संकलक दिन टाढाका पाटनमा पुग्ने भएकाले विरामी पर्दा उपचार सेवा लिन र दिन समस्या हुने गरेको छ ।
मुगुका दुई दर्जन बढी पाटन क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ्ग गाउपालिकाले गत १५ गते मात्र वन पाटन प्रवेश खुल्ला गरेको थियो ।