काठमाडौं । अमेरिका र वेष्ट इण्डिजमा हुने टी २० विश्वकप सुरु हुन केही घण्टा मात्रै बाँकी छ । यस क्रममा नेपाली टोलीका खेलाडीहरू अभ्यासमा व्यस्त रहेका छन् ।
बंगलादेशमा सम्पन्न पहिलो विश्वकप खेलेको नेपालले दोस्रो विश्वकपमा सहभागी हुने मौका पाएको हो । दोस्रो पटक विश्वकपमा सहभागी टोलीमध्ये नेपाली खेलाडी युवा टोली हो ।
नेपाली टोलीका कप्तान रोहित पौडेल सहभागी टोलीमध्ये सबैभन्दा कान्छा कप्तान बनेका छन् । उनी जम्मा २१ वर्ष पुगेका छन् ।
नेपालले पहिलो विश्वकप खेलेको देखेर क्रिकेटमा होमिएका कप्तान पौडेल १० वर्षपछि आफ्नै नेतृत्वमा विश्वकप खेल्न अमेरिका पुगेका हुन्
विश्वकपमा सहभागी २० टोलीमध्ये नेपाली खेलाडीको औसत उमेर २३.७ वर्ष मात्रै रहेको छ । पाका खेलाडीको रूपमा ओमान रहेको छ । ओमानका खेलाडीको औसत उमेर ३२.९ वर्ष रहेको छ ।
विश्वकपका पाका कप्तानका रूपमा नेपालको छिमेकी मुलुक भारतका रोहित शर्मा, क्यानडाका साद बिन जाफर र स्कटल्यान्डका रिची बेरिङटन रहेका छन् । उनीहरूको उमेर ३७ वर्ष पुगेको छ ।
यसमध्ये भारतीय कप्तान रोहितले सबभन्दा धेरै एक सय ५१, बेरिङटनले ८५ र बिन जाफरले ३८ टी २० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।
यसैबीच नेपाली टोलीका कप्तान रोहितले टी २० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने प्रतिक्रिया दिएका छन् । यस खेलमा जुनसुकै टोली जसलाई पनि पराजित गर्न सक्ने उनको भनाइ थियो ।
नेपाली टोली रहेको समूह ‘डी’ मा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको छ । नेपाल र नेदरल्यान्ड्सबाहेक तीन देश टेस्ट मान्यता टोली हो ।