काठमाडौं । नेकपा (एकीकृत समाजवादी) आन्तरिकरुपमा चरम विवादमा गुज्रेको छ । एकातिर तत्कालिन कार्यनीतिलाई लिएर अलमल छ भने अर्कोतिर पार्टी विभाजनलाई पुष्टि गर्ने अवस्था छैन । जसको प्रभाव विवाद र विभाजनको सकसमा एकीकृत समाजवादी गुज्रिरहेको छ ।
पछिल्लो समय मात्रै सत्ता समीकरणको विषयलाई एकीकृत समाजवादी करिब विभाजनको डिलमा देखिन्छ । जहाँ प्रष्टैरुपमा दुई कित्ता देखिएको छ ।
यस्तोमा विवाद र विभाजनलाई छल्न पार्टी महाधिवेशनमा होमिएको छ ।
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी एकीकृत समाजवादीको छ । ‘दशौँ राष्ट्रिय महाधिवेशन’को ब्यानरमा गर्न लागिएको महाधिवेशनलाई लिएर नेताहरुले भिन्न–भिन्न प्रतिवेदन बनाएका छन् । जसलाई एकीकृत गराउन सहज छैन ।
जसको लागि विकल्पको रुपमा तल्लो तहसम्मै पुर्याउने र छलफल गरी साझा प्रतिवेदन बनाउने तयारी छ ।
पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी, विधान र साङ्गठनिक दस्तावेजमाथि छलफल गर्न सबै जिल्ला तहमा पठाइसकिएको छ । सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई यही जेठ ३२ गतेसम्म छलफल गराउने तालिका रहेको उनले जनाए ।
तल्लो तहदेखि नै आएका सुझावलाई समेटेर ती दस्तावेज साझा प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने तयारी गरिएको उपप्रमुख अर्यालले जानकारी दिए । अन्य सांगठनिक तयारीको विषय पनि तिव्ररुपमा अगाडि बढाइएको उनले जनाए ।
महाधिवेशनका लागि अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन तयार गरेका छन् । यद्यपि, चार वटैका प्रतिवेदनमा भिन्न–भिन्न मत छ । केही नेताले ल्याएका पुरक प्रतिवेदनमाथि पनि छलफल गराउने तयारी छ ।