गृहमन्त्रीविरुद्ध फेरि संसदमा उत्रियो कांग्रेस, हुकुमी शासन चलाउन खोजेको आरोप-Sutra News

गृहमन्त्रीविरुद्ध फेरि संसदमा उत्रियो कांग्रेस, हुकुमी शासन चलाउन खोजेको आरोप

आइतबार, २० जेष्ठ २०८१

आइतबार, २० जेष्ठ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मापसेलगायतका ट्राफिक उल्लंघन गरेका व्यक्तिलाई ट्राफिक व्यवस्थापनमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णय फिर्ता लिन माग गरेको छ । आइतबार संसद बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेको सो निर्णय कानुन विपरित भएको भन्दै फिर्ता लिन माग गरेका हुन् ।



गृहमन्त्रीको सो निर्णय हुकुमी शैलीमा आएको उनको भनाई छ । “उपप्रधानमन्त्रीको ट्वीट पढेँ, ट्राफिकमा काम गर्ने महिला दिदी बहिनीहरुलाई चार दिन पिरियडको समयमा बिदा दिने कामको सुरुवात गर्नुभएछ, कानुन बनाएर गर्दा असाध्यै राम्रो, यसलाई हामी स्वागत गर्न चाहन्छौं”, उनले भनेका छन्, “तर, सँगै मापसे गरेका मान्छेलाई सडकमा ल्याएर उभ्याउने अरे ! यो कुन कानुन, कुन नियममा छ ? गृहमन्त्रालयले के आधारमा टेकेर प्रहरीलाई निर्देशन गरेको छ ?”

गृहमन्त्रीको मनलागी निर्णयले स्वयंसेवकको रुपमा सडकमा खटिने अन्यमाथि मानमर्दन भएको खतिवडाको भनाई छ । “ट्राफिक व्यवस्थापनमा कहिलेकाहीँ विदेशी पाहुना, कहिले विद्यार्थी, कहिले अन्य क्षेत्रका व्यक्ति आइरहेका हुन्छन्, यस्तोमा मापसे गरेर लरबरिएको व्यक्तिलाई ट्राफिक व्यवस्थापनमा राख्दा के सन्देश जाला ? अन्यमाथि के प्रश्न उठ्छ ?”, खतिवडाले प्रश्न गरेका छन् ।

खतिवडाले तत्कालै सो निर्णय फिर्ता लिइ कानुन बनाएर अघि बढ्न माग गरेका छन् । गृहमन्त्रीको सो विषयमा खतिवडाले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएका छन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन सामाजिक सञ्जालमार्फत ट्राफिक महिलालाई चार दिन विदा दिने र सो समयमा मापसेसहित विभिन्न ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई सडकमा खटाउने घोषणा गरेका थिए । जुन घोषणाको चौतर्फी विरोध भइरहेको छ ।

जुन निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा समेत रिट दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट