काठमाडौं । जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘राई माईला’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ ।
गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । यो गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । गीतमा समावेश दृश्यले फिल्मको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ ।
गीतले गाउँको कथा भनेको छ । गीतको कथालाई थप अर्थ्याउन र उकास्न बनेको भिडियोले गाउँ छोड्न विवस भएको परिवारको कथा देखाएको छ । गाउँको गरिब परिवार जो गाउँमा डोका, मान्द्रा, नाङ्ला र चित्रा बनेर परिवारका न्यूनतम आवश्यकता धानिरहेको छ । छोरालाई ३० रुपैयाँको कालो चस्मा किन्न सकेका दिन संसार जितेको खुसी घर भित्रिने परिवार कसरी आफ्नो थातथलो नै छोडेर हिँड्ने कठोर निर्णयमा पुग्छ ? गीतले प्रष्टै पारेको छ ।
एउटा मान्छेले गाउँ छोड्दाको असरलाई गीतले देखाएको छ । देखिनलाई संख्यामा एउटा परिवारले गाउँ छोडे पनि त्यसले पर्ने र पार्ने चौतर्फी असरलाई गीतमा देखाइएको छ ।
बाबुछोराको स्नेही सम्बन्ध र खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । योसँगै छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर फिल्मको कथा घुम्छ । सडकसँगै गाउँ आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तन तथा सडक र गाडी पुगेपछि परेको असरको कथा फिल्मले भनेको छ ।
फिल्मले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ । ‘नुमाफुङ’ बनाएर फरक धारका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो फिल्म हो । उनले बनाएको दोस्रो फिल्म ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।
मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । टोरोन्टो र बुसान फिल्म महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन् ।
यो फिल्मको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । फिल्मको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।