काठमाडौं । निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’ यही जेठ २५ गतेबाट दर्शकमाझ आउँदैछ । लामिछाने विं.सं. २०७५ सालमा राष्ट्रिय अवार्ड प्राप्त निर्देशक हुन् । उनले यस अघि सामाजिक विषयवस्तुमा ‘धौली’, ‘अग्नीदहन’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ फिल्मको पनि निर्देशन गरेका छन् ।
प्रदर्शनको हिसाबले ‘लन्डन टु पेरिस’ पाँचौं फिल्मको हो । निर्देशक लामिछाने आफ्ना अघिल्ला फिल्म नेपाली परिवेशमा छायांकन गरेका थिए । उनले ‘लण्डन टु पेरिस’लाई भने बेलायतको लण्डनमा छायांकन गरेका छन् । नेपाली परिवेशको कथा भन्दै आएका उनले अब नोपली दर्शकलाई डायस्पोरा (प्रवासी)को कथा देखाउने लागेका छन् । यो फिल्म रोम कम ड्रामाको यात्रामय आधुनिक प्रेमकथा रहेको छ ।
लामिछानेका अनुसार ‘लण्डन टु पेरिस’ विदेशी भूमिमा छायांकन गरिए पनि त्यसको कथावस्तु भने नेपाली परिवेशकै रहेको बताउँछन् । उनी भन्छन्, ‘लण्डन टु पेरिस हाम्रै कथा हो, नेपाली डायस्पोराको कथा हो,लण्डनमा बस्ने नेपाली युवाको कथा हो, हाम्रो बुझाईमा गाउँको कथा मात्र कथा हो भन्ने छ, तर त्यो बुझाई गलत हो । शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई मात्र कथा मान्छौं, बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो, मुलुक बाहिर बस्ने युवापुस्ताको कथा पनि भन्न आवश्यक छ भनेर नै हामीले यो फिल्म बनाएका हौं । मैले हिजोको दिनमा गाउँकै कथा दर्शकलाई देखाएँ । तर आज अलिक फरक परिवेशमा नेपाली कथा नै देखाउँदैछु ।’
फिल्म हेरिरहँदा दर्शकले कथाबाहिर गए जस्तो नलाग्ने दाबी लामिछाने गर्छन् । ‘फिल्मका पात्रसँग दर्शकले आफूलाई मजाले रिलेट गर्न सक्नुहुन्छ, फिल्म अलिकति लार्जर देन लाइफ छ । अहिले हामी एउटै फ्लेभरका फिल्म हेरेर दिक्क भइसकेका छौं, त्यसकारण दर्शकलाई ‘लण्डन टु पेरिस’ ले रिफ्रेस बनाउँछ’, घनश्याम भन्छन् ।
उनी अघि भनछन्, ‘नेपाली समाज, संस्कृति, भुगोलसँग जोडिएर काम गर्दा आनन्दको अनुभव हुँदो रहेछ, अझ राम्रो कलाकार र स्क्रिप्ट छ भने त्यसले मलाई चुनौती वा जोखिम दिँदैन । सही समयमा सही कास्टिङ गर्न सकियो भने चुनौति र जोखिम केही हुँदैन ।’
उनले फिल्म को कथा अनुसार नै मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्ध गर्न केही समय लागेको खुलाए । ‘फिल्मको कथा अनुसार साम्राज्ञी फिट थिइन् । त्यसकारण केही समय पर्खिएर भए पनि हामीले उनलाई फिल्ममा लियौं । हाम्रो फिल्ममा प्रेम र धोका दुवै छ, तर त्यसको प्रस्तुतीकरण फरक छ’, उनी भन्छन् ।
उनले फिल्मको कथालाई ६ कलाकारले नै ‘लिड’ गर्ने बताए । ‘फिल्मको कथा यति पावरफूल छ कि दर्शकलाई त्यसले कनेक्ट गर्न सक्छ । हामीले फिल्मको कथा भन्दा पर गएर खिचेका छैनौं । जे चाहिने हो त्यही खिचेका छौं,’ उनले भने ।
प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद रहेको फिल्ममा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिफिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।