पछि हट्नु थियो भने नीता र हरिहरलाई किन हतारो !-Sutra News

पछि हट्नु थियो भने नीता र हरिहरलाई किन हतारो !

आइतबार, २० जेष्ठ २०८१

आइतबार, २० जेष्ठ २०८१

काठमाडौं । नेपाली मेकर जहिले पनि हतार गरेर प्रदर्शन मिति घोषणा गर्छन् । फेरि पछि रिलिज मिति फेरबदल गर्नेहरु पनि कमी छैनन् । यसरी हतारिनु भनेको नेपालमा भन्ने गरिएको एउटा उखान छ ‘नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु पहिले’ जस्तै ।



हो, यस्तै भएको छ- फिल्म ‘ह्रस्व दीर्घ’लाई । सुरुमा छायाकंन नसकाई यो फिल्मको असोज ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । विशेषत प्रदर्शन मितिलाई चाँडो घोषणा गर्नुको कारण रिलिज मिति बुक गर्नु हो । तर, यसरी छायाकंन नसकाई मिति तोक्नुको पछाडि उनीहरुको कुनै न कुनै स्वार्थ जोडिएको हुन्छ । यस्तै स्वार्थ ‘ह्रस्व दीर्घ’ टिममा पनि देखिएको छ ।

निर्माता तथा अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको यो फिल्मको प्रदर्शन मिति हेरफेर गरेर एक हप्ताअगाडि सर्दै असोज ३ गते अर्थात् संविधान दिवसको दिनबाट प्रदर्शनमा आउने भएको छ । यो मितिमा अरु दुई फिल्म ‘आउट लः दफा २१९’ र ‘खुस्मा’ पनि छन् ।

फिल्म ‘ह्रस्व दीर्घ’ले असोज ११ गते आउँदा आफूले बक्सअफिसमा अरु फिल्मसँग संघर्ष गर्नु पर्ने भयो । अब चाहेको स्वार्थ पूरा नहुने भएपछि दुई फिल्म प्रदर्शन हुने थाहा हुँदा हुँदै जुध्न पुगेको स्पष्ट देखिन्छ। किन कि असोज ११ गते आउँदा दोस्रो हप्तादेखि दशैंका दुई ठूला फिल्म ‘छक्का पञ्जा ४’ र ‘बेहुली फ्रम मेघौली’ले असर गर्न सक्थ्यो । दोस्रो, असोज ३ मा आउँदा संविधान दिवस र असोज ९ गते जितिया पर्वको गरी दुई वटा बिदा पर्छ । यसैले फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको देखिन्छ ।

हुन त सुरुवातमा फिल्मको प्रदर्शन मिति घोषणा गर्ने विषयलाई लिएर लडाई गरेर युद्ध जिते झै गरेकी निर्माता नीताले रिलिज मिति फेरबदल गरेपछि भनेकी छन्- वितरण कम्पनी र निर्माण टिमको सल्लाहमा प्रदर्शन मिति हेरफेर गरिएको हो ।

उनले भनिन्, ‘हाम्रो प्रोडक्ट कुन मितिमा ल्याउने विषयमा हामी जिम्मेवार हुने कुरा रहन्छ, असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिति रोजिएको हो ।’

नीता फिल्मसको ब्यानरमा तयार भएको फिल्मको यतिबेला धमाधम डबिङको काम चलिरहेको छ । चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा निर्मात्री रहेकी अभिनेत्री नीतासँगै, अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि बलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत नाम चलेका दर्जनबढि कलाकार अभिनयमा छन् ।

सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा बलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ । फिल्ममा मित्र डि गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट