काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएपछि मात्रै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएको थियो । जुन सहमतिपश्चात नै जेठ ६ गते बसेको संसद बैठकमा लामिछानेले बोल्ने अवसर पाएका थिए ।
यद्यपि, लामिछानेले रोष्ट्रमलाई आफूमाथिको आरोप खण्डन गर्नभन्दा अन्यमाथि आरोप लगाउन प्रयोग गरे । उक्त सम्बोधनका क्रममा आफूमाथि लागेका आरोपलाई सामान्यकृत गर्न लामिछानेले अरुमाथि केही गम्भीर खालका आरोपहरु लगाए । उनले संसदमा बस्नेहरु केही ‘विदेशी एजेन्ट’ रहेको भन्दै उनीहरुलाई संसदबाट धपाउनुपर्ने भनाई राखे ।
“नागरिकता एउटै बोक्ने तर, देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेटहरुलाई बाहिर पठाऊँ, संसदबाट हटाऊँ । जुतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् कि पार्टीको महामन्त्री”, लामिछानेले रोष्ट्रमबाट उभिएर भनेका थिए ।
लामिछानेले व्यक्ति तोकेर नभनेका भएपनि उनको अभिव्यक्ति कांग्रेस महामन्त्री गगन थापा लक्षित रहेको बुझ्न सकिन्छ । हुन पनि आइतबारको संसद बैठकमा महामन्त्री थापाले लामिछानेका उक्त आरोपमाथि केन्द्रीत रही संसदमा आफ्ना भनाई राखेका छन् । थापाले उक्त आरोपको जवाफ लामिछानेबाट होइन, प्रधानमन्त्रीबाट दिइनुपर्ने माग गरेका छन् ।
“सूचना बेच्ने मान्छेहरू पनि सदनमा छन् भनेर गृहमन्त्रीले भन्नुभयो, सदनमा गएर बोलेपछि जवाफ दिनुपर्छ, सूचना बेच्नेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ”, थापाले भनेका छन्, “अब हामी चुप लागेर बस्दैनौं, गृहमन्त्री होइन प्रधानमन्त्रीसँग हिसाबकिताब दिनुपर्छ ।”
गृहमन्त्री लामिछानेले आफैंलाई लक्षित गरेर उक्त अभिव्यक्ति दिएको भन्दै थापाले उक्त अभिव्यक्तिको हिसाब मागेरै छाड्ने बताए ।
सत्तासँग लड्दा घाउ कसरी लाग्छ मलाई राम्ररी थाहा छ, एक्लै देशद्रोहको मुद्दा खेपेर आएको हुँ”, उनले भनेका छन्, “बाहिर एउटा चटकेको जस्तो बोल्ल पाइएला तर संसद् चटक देखाउने ठाउँ होइन, सम्माननीय प्रधानमन्त्रीले रेकर्डबाट हटाउनुपर्यो, होइन भने हिसाबकिताब लिइन्छ ।”
आफूमाथिको स्पष्टीकरणभन्दा प्रत्यारोपमा गगन
आफूलाई केन्द्रीत गरी गम्भीर आरोप लगाएको सन्दर्भमा संसदमा बोलेका महामन्त्री थापाले आफ्नो सम्बोधन पनि लामिछानेविरुद्ध नै केन्द्रीत गरे । थापाले लामिछानेले लगाएको आरोपको खण्डन मात्रै गरेनन् लामिछानेमाथि पनि सोही शैलीमा नै संगीन खालका आरोपहरु लगाए ।
उनले सशस्त्र युद्धको समयमा लामिछाने नक्कली पीडित बनेर अमेरिकामा पुगेको आरोप लगाएका छन् । ‘एक साथीको कहानी’ भन्दै थापाले लामिछानेमाथि यस्तो आरोप लगाएका हुन् ।
“सन् २००० तिर नेपालको अवस्था कस्तो थियो सबैलाई थाहा छ, त्यो बेला केही बाध्यताले देश छाडेर गए, बाहिर गएर शरणार्थी भए, तर, त्योबीच केही छट्टुहरु नक्कली पीडित बनेर पनि गए”, लामिछानेलाई संकेत गर्दै थापाले भनेका छन्, “त्यस्तै एकजना मेरो बाग्लुङका साथीका साथी छन्, ति पनि बाहिर गए बसे, घुमफिर गरे, घरजम गरे, सबै ठिकठाक भयो, सँगै नेपालको अवस्था पनि ठिक भयो, उनी नेपाल फर्किए, तर फर्कँदा नयाँ अवतारमा आए ।”
विगतको त्यो कर्तुत ढाकछोप गरेर आफूलाई बेग्लै देखाउन खोजिरहेको थापाको भनाई छ । “नयाँ अवतारमा आउँदा विगतका कुर्तत सबै ढाकछोप भयो, त्यो हुनुपनि पर्छ, त्यो ठिकै पनि हो, तर, बेला–बेला खानपिन गरेको बेला छतमा बसेर अरुमाथि गम्भीर आरोप लगाउँछन्– तँ ठग, तँ चोर, तँ व्यभिचारी”, उनले भनेका छन्, “किन यसो गर्लान् भनेको, भित्रभित्र भन्न पनि नमिल्ने, तर भतभति पोल्ने ।”
थापाले सहकारी ठगी प्रकरणमा लामिछानेलाई कारबाहीमा दायरामा ल्याएरै छाड्ने पनि बताएका छन् । लामिछानेको कारण हजारौं मानिस सडकमा पुगेको भन्दै उनले आफूहरु पछि हट्ने पक्षमा नभएको बताए ।
“सुन्न त हामीले अन्तर्राष्ट्रिय समिति नै बनाऔं भन्ने पनि सुनेकै हो, नाम राख्न बन्द कोठामा मान्नुभएन”, उनले भनेका छन्, “यो समितिले सहकारीको खाता पनि पल्टाउँछ, गोर्खा मिडियाको खाता पनि पल्टाउँछ, खाता मात्रै पल्टाउँदैन । गोर्खा मिडिया सञ्चालन गर्ने जीबी होस् कि छवि होस् कि रवि होस् कि कवि होस् । उसलाई पनि बोलाउँछ ।”
आरोप–प्रत्यारोपले उठाएका प्रश्न
आशातित पात्र एकअर्काविरुद्ध चुनौतिपूर्ण शैलीमा ‘छिचराे’ आरोप–प्रत्यारोपमा उत्रिरहँदा यसले एकातिर युवा वर्गमा निराशा पैदा गराएको छ भने अर्कोतिर जिम्मेवार नेताका अभिव्यक्तिले गम्भीर प्रश्नहरु पनि उब्जाएको देखिन्छ ।
लामिछाने स्वयम् उपप्रधान तथा गृहमन्त्रीको पदमा आशिन छन् । कानुन कार्यान्वयनको तहमा रहेका लामिछानेले भन्नका लागि आरोप–प्रत्यारोप तहमा उत्रन मिल्ने कि नमिल्ने ? सूचना बेच्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने निकाय कुन ?
उनकै भनाईलाई आधार मान्दा के गृहमन्त्रालयले यस्ता सूचना बेच्नेमाथि छानबिन गर्न छानबिन समिति बनाउनु पर्दैन ? के त्यस्तालाई कारबाहीको दायरामा ल्याउन पहल गर्नुपर्दैन ? के जिम्मेवार उपप्रधान तथा गृहमन्त्रीले आफूसँग सूचना छ भने सार्वजनिक मञ्चमा भन्दै हिँड्ने की कारबाही प्रक्रियामा लैजाने ?
अर्कोतर्फ, लामिछानेमाथि थापाले लगाएको जवाफी आरोप पनि सामान्य छैन । उनले लामिछानेमाथि ‘नक्कली शरणार्थी’को आरोप लगाएका छन् । उपप्रधान तथा गृहमन्त्रीको पदमा आसिनमाथि थापाले लगाएको आरोपलाई कसरी हेर्ने ? के यी आरोपहरु सामान्य छन् ?