काठमाडौं । केही वर्षअघि भारतीय फिल्म निर्देशक सुभाष घईले फिल्म समीक्षक कोमल नाहटासँग एक अन्तरवार्तामा भारतीय फिल्म इन्डष्ट्री, मिडिया र आम दर्शकलाई अनुरोध गर्दै भनेका थिए, ‘प्लिज हाम्रो हिन्दी सिनेमालाई तपाई बलिउड सिनेमा नभन्दिनुस् । किनभने यो बलिउड शब्द कसैले हामीलाई गालीमा दिएको हो ।’
सन् १९८९ तिरको कुरा हो । त्यतिबेला निर्देशक घईको ‘रामलखन’ सिनेमा रिलिज भइरहेको थियो । बिबिसीको युनिटले अनुमति लिएर यो फिल्मको प्रिमियरबारे रिपोर्टिङ गरेको थियो । त्यसको केही हप्तापछि निर्देशक घई लन्डन गए । लन्डनको च्यानलमा जब भारतीय फिल्म मेकरलाई नक्कलबाज भनेर चित्रण गरिएको रिपोर्ट देखे, उनी छाँगाबाट खसेझै भए ।
‘त्यहाँको च्यानलले भारतमा फिल्मकर्मीले यसरी हलिउडको नक्कल गरिरहेका छन् भन्दै देखाइरहेको थियो,’ घईले अन्तरवार्तामा भनेका छन्, ‘त्यो च्यानलले भारतीय लेडिजको जुत्ता, पहिरन, हेयरस्टाइल सबै दृश्यको सर्ट देखाउँदै सबै हाम्रैबाट नक्कल भइरहेको भनिरहेको थियो । हलिउडमा यसरी प्रिमियर हुन्छ, बलिउडमा पनि त्यसैगरी हुन्छ भन्दै दृश्य देखाइँदै थियो । पुरै रिपोर्टमा यिनीहरु हलिउडको नक्कलमात्रै गर्न जान्दछन् भनेर देखाइयो । अनि अन्तिममा किन यिनीहरुको नाम बलिउड नराख्ने भनेर प्रश्न गरिएको थियो । यसरी तिरस्कारबाट यो नामको सुरुवात भयो । तर, हामीले सत्कार सम्झिएर लियौं । त्यसैले मैले दुःखसाथ भन्नुपर्छ, याद गर्नुस् जब तपाई बलिउड भनेर सम्बोधन गर्नुहुन्छ, त्यतिबेला तपाई आफैले आफैलाई नक्कलची बाँदर भनिरहनुभएको छ ।’
‘बलिउड’ नामाकरणसँग जोडिएको यो प्रसंग यतिखेर नेपाली फिल्म क्षेत्रका लागि सान्दर्भिक छ । किनभने बलिउडको धङधङीमा रहेर नेपाली फिल्ममा जमेका र रमाएका केही फिल्मकर्मी अहिले यसैगरी नेपाली फिल्मको न्वारन गर्न तम्सिएका छन् । डरलाग्दो पक्ष त के छ भने नेपाली चलचित्रको विकास र स्तरोन्नतीका लागि स्थापित राज्यको एकमात्र निकाय चलचित्र विकास बोर्ड नै गर्नुपर्ने महत्वपुर्ण काम सबै थाती राखेर, नेपाली फिल्म क्षेत्रको नाम ‘सिनेमान्डु’ राख्न तम्सिएको छ ।
आगामी ९ साउनमा बोर्ड अध्यक्ष भूवन केसीको कार्यकाल सकिँदैछ । कार्यकालभर अरु केही गर्न नसकेपनि जाँदाजाँदै नेपाली फिल्म क्षेत्रको न्वारन गरेर जाने केसीको चाहनाका कारण फिल्मवृत्तमा ‘सिनेमान्डु’ प्रस्तावमा आएको छ । गत सोमबार चलचित्र विकास बोर्डले केही फिल्म सम्बद्ध संस्थाका अध्यक्षलाई साक्षी राखेर नेपाली फिल्म क्षेत्रको नाम ‘सिनेमान्डु’ राख्ने सहमति गराएका थिए । तर, सहमति लगत्तै फिल्मकर्मीले सामाजिक संजालबाट विरोध सुरु भएपछि नामाकरणको प्रक्रिया सञ्चार मन्त्रालयसम्म पुग्न सकेको छैन, बोर्डमै रोकिएको छ ।
सोमबार बैठकमा रहेका बोर्डका प्रवक्ता केएल बुढाथोकीले नै यो नामाकरण प्रक्रियामा असहमति जनाउँदै हस्ताक्षर नगरेपछि बोर्डभित्रै न्वारनलाई लिएर विवाद रहेको विषय पनि छताछुल्ल भइसकेको छ । ‘यो नामाकरणको विषय विचाराधिन अवस्थामा छ, अन्तिम निर्णय भएको छैन,’ बोर्ड प्रवक्ता बुढाथोकीले सूत्रन्यूजसँग भने, ‘अघिल्लो महिनाको अन्त्यतिर कुन दिन राष्ट्रिय चलचित्र दिवस मनाउने भन्ने विषयमा छलफल गर्ने क्रममा यो नामको विषय उठेको हो ।मैले १० ठूला फिल्म उद्योग अमेरिका, भारत, चीन, जापान लगायतको उदाहरण दिँदै कतैपनि सरकारले फिल्म उद्योगको नामाकरण नगरेको भन्दै असहमति जनाएको हो । तैपनि फिल्मसँग सम्बन्धित संघ संस्थाले नै हस्ताक्षर गरे । मैले हस्ताक्षर गर्न मानिनँ, मेरो नोट अफ डिसेन्ट रह्यो । छलफलमा सहमति भएको भनिएपनि विवादका कारण यो प्रक्रियामा गएको छैन । अब जाँदैन पनि, रोकिन्छ नै ।’
असोज १५ गते अर्थात् नेपालमै रिलिज भएको नेपालको पहिलो फिल्म ‘आमा’ रिलिज भएको दिनलाई बोर्डले राष्ट्रिय चलचित्र दिवस मनाउने निर्णय गरेकै दिन यो नामाकरणको सहमति पनि गरेको थियो । बोर्डले यो बैठकअघि नाम सिफारिसका लागि एउटा समिति बनाएको र त्यो समितिबाट तीनवटा नाम प्रस्तावमा आएको बोर्ड प्रवक्ता बुढाथोकीले बताए ।
‘सिनेमान्डु, कान्तिपुर फिल्मस् र हिमालय फिल्मस् गरेर तीन नाम प्रस्तावमा आएका थिए,’ बुढाथोकीले भने, ‘अध्यक्षज्यूलाई कार्यकाल सकिनुअघि न्वारन गरेर जान पाए हुन्थ्यो भन्ने लाग्यो होला । मैले सर्वस्वीकार्य नाम भए एउटा कुरा नत्र इतिहासमै हामीमाथि दाग लाग्छ, यस्तो काम नगरौं भनेर प्रष्ट भनेको हो । यद्यपी अहिलेसम्म भएको प्रक्रियाको दोषभाग मैले लिनुपर्छ । नभन्दै यो निर्णय विवादमा आयो । अहिले बोर्ड प्रक्रिया रोक्न बाध्य भएको अवस्था छ । विवादका बीच अब नामाकरण हुँदैन । ’
बोर्डमा केही फिल्मकर्मी बसेर नेपाली फिल्म क्षेत्रको न्वारन गर्ने निर्णय गरे लगत्तै फिल्म समिक्षक समाजका उपाध्यक्षसमेत रहेका चलचित्र लेखक सामिप्यराज तिमल्सिनाले फेसबुकमा आक्रोश व्यक्ति गर्दै लेखेका थिए– ‘चलचित्र विधेयक खोई ? चलचित्र नीति खोई ? बनेपामा बन्ने भनेको इन्डोर सुटिङ स्टुडियो खोई? स्टोरी बैंकले छानेका कथामा फिल्म बनेको खोई ? गर्नुपर्ने काम एउटा नगर्ने काम मच्ची मच्ची गर्ने !!’
सूत्रन्यूजसँगको कुराकानीमा तिमल्सिनाले न्वारन गरेर आत्मरतिमा रमाउने मनोविज्ञानबाट ग्रसित नेतृत्वले यो निर्णय गरेको बताए । ‘अहिले पनि हामी २०२६ सालको चलचित्र ऐनकै भरमा चलिरहेका छौं, पञ्चायतकालिन कानुन फेर्न सकेका छैनौं,’ उनले भने, ‘फिल्मको स्तरोन्नती गर्नतिर केन्द्रित छैनौं । तर, राष्ट्रिय दिवस कहिले मनाउने, फिल्म क्षेत्रको नाम के राख्ने भन्नेमै रुमल्लिरहेका छौं, मच्चीमच्ची रमाइरहेका छौं । नाम राख्ने छलफल गर्नुअघि एउटा इतिहासविद् पनि नराखि बोर्ड कर्मचारीकै भरमा न्वारन गरिएछ । बोर्डभित्रै द्धन्द छ । यसले बोर्ड कति लहड र केटाकेटी पारामा चलिरहेको छ भन्ने देखाउँछ ।’
फिल्म निर्देशक एवम् स्क्रिप्ट डक्टर मनोज पण्डित केही फिल्मकर्मी र नेतृत्वको व्यक्तिगत स्वार्थका कारण धेरैपटक बोर्डमा यस्तो गल्ती र घटनाहरु भएको बताउँछन् । ‘यो केही समुहले फालेको तुरुप हो,’ पण्डित भन्छन्, ‘न्वारन गरेर आत्मसन्तुष्टि लिन खोज्ने जमातको दुष्प्रयत्न हो यो । यो कुनै हालतमा लागु हुँदैन । अहिले पनि बोर्डको काम गर्ने प्रणाली, नेतृत्वको दायित्वप्रति कति अस्पष्टता छ र यो कसरी केही सिमित व्यक्तिको इसारामा चलिरहेको छ भन्ने पछिल्लो घटनाले प्रष्टै पार्छ ।’
‘संघियताको मर्ममाथि नै प्रहार गरेर नामाकरण’
अहिले प्रस्तावमा आएको नामले देशले अभ्यास गरिरहेको संघियताको मर्ममाथि नै प्रहार गरेको पनि फिल्मकर्मीको ठम्याई छ । ‘सिनेमा काठमान्डुमा भन्दा बाहिर होइन र नेपाल भनेको काठमान्डुभन्दा बाहिर छैन भन्ने मनोविज्ञानबाट ग्रसित भएर सिनेमान्डु नामाकरण गरिएको देखिन्छ,’ निर्देशक पण्डितले भने, ‘देश संघियताको अभ्यासमा गइसक्दा पनि नेपाली सिनेमालाई काठमान्डुको खाडलभन्दा पर गएर परिकल्पना गर्न नसक्नु नेतृत्वको सोचको सिमितता हो । सिनेमान्डु नामभन्दा पनि यो नाम न्वारन गर्नेहरुको नियत र सोचचाँही डरलाग्दो हो । तर, नेपाली सिनेमा क्षेत्रको नाम दुइ–चारजना व्यक्तिले न्वारन गरेको भरमा कसैले मान्ने भने हुँदैन, हुँदै हुँदैन । ’
सातवटै प्रदेशमा फिल्म स्टुडियो निर्माणको अवधारण ल्याएको चलचित्र विकास बोेर्डले नेपाली फिल्म क्षेत्रको नाम ‘सिनेमान्डु’ राख्ने निर्णय गरेको सुनेर फिल्म लेखकसमेत रहेका तिमल्सिना चकित छन् । ‘सातवटै प्रदेशमा फिल्म स्टुडियो बनाउँछु पनि भन्ने अनि नेपाली फिल्मको न्वारन सिनेमान्डु भनेर पनि गर्ने,’ उनी प्रश्न गर्दै भन्छन्, ‘हरेक प्रदेशको आफ्नै पहिचान, भाषा र संस्कृति छ । त्यसोभए तिनीहरुको फिल्मलाई के भन्ने ? हलिउड, बलिउड पनि राज्यले राखेको नाम होइन । अहिले पनि त्यहाँ भारतीय र अमेरिकी सिनेमा नै भनिन्छ। तर, विडम्बना एक दुइ कक्षाको विद्यार्थीले पनि नगर्ने यस्तो वाइहात विषयमा हामीले बहस गर्नुपरिरहेको छ । यस्तो सोच राखेर इन्डष्ट्री कहाँ जान्छ ? हामी न्वारन गरेर कहिलेसम्म आत्मरतिमा रमाइरहने । कसैलाई महानायक, कसैलाई महानायिका, कसैलाई मेघास्टार त कसैलाई सुपरस्टार भन्दै न्वारन गरेर कहिलेसम्म आत्मरतिमा रमाइरहने । यो डरलाग्दो कुरा हो । यसले नामाकरणमा संलग्नहरुको बौद्धिकताको स्तर छरपस्ट पार्छ । ’
भूवन केसीको कार्यकाल कति सफल ?
अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै नेपाली कांग्रेसको कोटाबाट भूवन केसी चलचित्र विकास बोर्ड अध्यक्ष बने । तर, अध्यक्ष नियुक्त भएलगत्तै विवादमा तानिएका केसीलाई कार्यकालभर विवादले छाडेन । विवादै विवादको भूमरीमा कैद भएका उनी जाने बेला पनि ‘सिनेमान्डु’ विवादसँगै विदा हुने पक्का छ ।
बोर्डको अध्यक्ष नियुक्त भएलगत्तै निर्देशक नरेशकुमार पौड्यालसहित ५ जनाले उनको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट हालेपछि उनी विवादमा तानिएका थिए । यद्यपी न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म काम गर्न रोक नलगाउन आदेश दिएकाले उनको पद गएन । त्यसपछि बोर्डकै पहलमा दुबईमा आयोजना भएको ‘नेपाली सिनेमा फेस्ट २०२३’का कारण फेरि उनीमाथि प्रश्न उठ्यो ।
मानव तस्करी र ठगीमा जोडिएको विवादित कम्पनी सूर्य कर्पोरेसनसँग सहकार्य गरेकोे भन्दै उनीमाथि नै मिलेमतो हो कि भन्ने आशंकाको तिर तेर्सियो । बोर्ड अध्यक्ष भएलगत्तै उनले एकजना पनि महिना नराखिकन सल्लाहकार समिति बनाए । त्यसको विरोध भएपछि पछि एक महिला थपेर ८ सदस्यीय पुर्याए ।
केसीका छोरा अनमोलको प्रतिष्पर्धी अभिनेताका रुपमा चिनिएका प्रदिप खड्काविरुद्ध त उनले श्रृंखलावद्ध आक्रमण नै गरे । निर्णायकले उनी अभिनित ‘प्रकाश’लाई उत्कृष्ट फिल्म भनेर छनौट गर्दागर्दै उनले यो विधा नै गायब गरेर नेसनल अवार्ड वितरण गरिदिए । यसविरुद्ध फिल्म टिम अदालतसम्म पुग्यो । त्यतिमात्रै होइन प्रदिपकै ‘प्रेमगीत ३’ को हिन्दी डब भर्सन केसीले नेपालमा प्रदर्शन गर्न रोक लगाउन फिल्मको सेन्सर नै रोक्ने षड्यन्त्रमा लागेपछि पुरै टिम उनीमाथि खनियो । चलचित्र संघ लगायत चलचित्रकर्मीकै विरोधमा पछि उनी नरम भएर फिल्म प्रदर्शनको माहोल मिलाउन बाध्य भए ।
चलचित्र समीक्षक समाजका उपाध्यक्ष सामिप्यराज तिमल्सिना केसीको कार्यकाललाई पाँचमा ०.५ रेटिङ दिन्छन् । ‘पाँचमा रेटिङ गर्ने हो भने म ०.५ दिन्छु,’ उनले भने, ‘त्यो पनि माया गरेर । उहाँको नेतृत्वको बोर्डले गरेको अपराधको सूची लामै छ अहिले नामाकारणको विषय अर्को ठूलो अपराध त के गर्नुभयो भने एक वर्ष राष्ट्रिय अवार्डबाट बेस्ट फिल्म भन्ने विधा नै गायब गर्नुभयो । पहिलोपटक यहीकारण अदालतमा मुद्दा नै लाग्यो । उहाँहरुलाई राम्रै गरेको भन्ने लागेको होला तर त्यस्तो अपराध नेपाली फिल्मको इतिहासमा कहिल्यै पनि भएको थिएन । जबकी बेस्ट फिल्म भनेको सबैखाले अवार्डको मुटु नै हो, मुख्य ताज नै त्यही हो । तर, त्यस्तो नचाहिँदो काम पनि उहाँले गर्नुभयो । ’
बोर्ड अध्यक्ष भएलगत्तै केसीको दाबी थियो– म जागिर खान आएको होइन, चलचित्र क्षेत्रका लागि केही गर्न आएको हुँ । तर, जाने बेलामा उनीमाथि उल्टै प्रश्न उठेको छ– त्यही नेपाली चलचित्र क्षेत्रको न्वारन गर्न आएको हो ?
याे पनि हेर्नुहाेस्