काठमाडौं । अभिनेता राजवल्लभ कोइराला स्वदेश आइपुगेका छन् । उनी आइतबार बिहान फिल्म ‘एक्टर’मा अभिनय गर्न आइपुगेका हुन् ।
फिल्मको पहिलो चरणको छायांकन पोखरामा सम्पन्न गरेको निर्माण पक्षले दोस्रो चरणको छायांकन सोमबारदेखि गर्ने भएको हो । अभिनेता कोइरालाको भूमिकामा छायांकन सुरु हुने भएसँगै उनी स्वदेश फिर्ता भएका हुन् ।
कोइरालाले ९ वर्षअगाडि फिल्म ‘हे यूवा’मा काम गरेपछि नयाँ फिल्ममा काम गरेका छैनन् । योसँगै उनको लामो समयपछि कमब्याक देखिने भएको छ ।
उनी, फिल्म ‘पर्खी बसेँ’बाट डेब्यू गरेका थिए । यो फिल्म सुपरहिट भएको थियो । फिल्म ‘हाइवे टू धम्पुस’मा काम गर्नका लागि अमेरिका पुगेपछि उनी उतै बस्न थालेका हुन् ।
अहिले आबद्ध भएको फिल्ममानिर्माण पक्षले कोइरालको भूमिका गोप्य राख्दै आएको छ । उनी फर्किएसँगै यस फिल्मका अन्य कलाकारसँग भेटवार्ता गरेका छन् ।
फिल्मका मुख्य भूमिकामा नायक प्रदीप खड्का र नायिकाद्वय दिव्या रायमाझी र आना शर्मा छन् । दिव्यले यसै फिल्ममार्फत रजतपटमा डेब्यु गर्दै छिन् ।
राजन भुसालको निर्देशनमा थमन कुमार भण्डारीको लगानी रहने फिल्मको प्रदर्शन मिति तिहारलाई तोकिएको छ । अदृत फिल्मस् र मोती फिल्मस्को व्यानरमा निर्माण भइरहेको यो फिल्ममा एनिस भुसाल सह–निर्माताको रुपमा छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन छ ।