काठमाडौं । बजेटसँगै सत्ता साझेदारभित्र खटपट देखिएको छ । सत्ता नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)ले आफूसँग सल्लाह नै नगरी बजेट ल्याएको भन्दै नेकपा (एमाले)ले सार्वजनिकरुपमै असन्तुष्टि पोखेका छन् । आइतबार बसेको संसद बैठकमा एमालेको तर्फबाट बोल्ने सांसदहरुले बजेटप्रति असन्तुष्टि जनाएका हुन् ।
संसद बैठकमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले बजेटमा सत्ता साझेदारसँग सल्लाह नगरिएको भन्दै असन्तुष्टि जनाए । उनले अर्थमन्त्री वर्षमान पुन आफूसँग सुझाव लिनसमेत नभ्याउने अवस्थामा रहेको भन्दै व्यंग्यात्मक टिप्पणी गरे ।
“बजेट निर्माणको समयमा अर्थमन्त्रीको व्यस्तता हुन्छ । अर्थमन्त्रीजी यस्तो व्यस्त हुनुभयो कि सरकारमा रहेका दलका नेतासँग सरसल्लाह गर्न र सुझाव लिन समेत भ्याउनुभएन”, पौडेलले भनेका छन् ।
एमालेले बजेटको प्राथमिकता के हो भन्ने प्रश्न गरेको छ । आर्थिक सुधारका लागि उच्चस्तरीय सुझाव आयोग गठन गर्ने बजेटको कार्यक्रमबारे अन्योलता जनाए ।
“आर्थिक नीति कार्यदलले सेट गर्ने (बनाउने) भन्दा पनि, राजनीतिक नेतृत्वले गर्ने कुरा हो । कुनै पनि नीति तथा कार्यक्रम राजनीतिक नेतृत्वले सेट गर्ने हो”, पौडेलले भने ।
बजेटमाथिको छलफलमा बोलेका अर्का नेता गोकुल बाँस्कोटाले पनि व्यंग्यात्मकरुपमा अर्थमन्त्रीको आलोचना गरेका थिए । उनले बजेटका कार्यक्रम धेरै सतही र अन्यले गरेका काममा जस नदिएको भन्दै आलोचना गरे ।
“दुखेसो, सरकारको प्रमुख घटक मेन पिल्लरसँग सल्लाह सुझाव गरेको पाइएन, अझै राम्रो बनाउन थप छलफल गरेको भए हुन्थ्यो, अर्थमन्त्रीको समय भएन कि ध्यान पुगेन ? नियत नै त्यस्तो भनेर शंका गर्दिनँ”, असन्तुष्टिपूर्ण शैलीमा बाँस्कोटाले भनेका छन् ।
बजेटमाथि असन्तुष्ट एमाले अध्यक्ष केपी शर्मा ओलीले आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल पनि गरेका छन् । उनी आफैंले पनि सरसल्लाह नगरिएको भन्दै असन्तुष्टि पोखेका छन् । “असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो”, बजेटबारेको सन्दर्भमा सञ्चारकर्मीसँग बोल्दै ओलीले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।