काठमाडौं । कैलालीको गोदावरी नगरपालिका १ अनामनगरबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५९० मिलिग्रामसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही नगरपालिका १ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै, मोरङको धनपालथान गाउँपालिका ३ टिटैयाबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३७० मिलिग्रामसहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दर हरैचा नगरपालिका ४ बस्ने २९ वर्षीय राम कुमार चौधरी र रंगेली नगरपालिका ३ बेतौना बस्ने २४ वर्षीय सुरेन्द्र मर्डी रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र. १-०२-०४१ प ९३९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।