काठमाडौं । नेपालमा स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय प्रणाली प्रभाव रहेको छ ।
जसका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यी प्रदेशको थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशको एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा मौसम सफा रहने छ । कोशी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानमा तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।