ओलीमाथि खनिए बालेन, गिरीबन्धु काण्ड थुमथुमाउन फुटपाथ विस्तारमा अवरोध गरेको आरोप-Sutra News

ओलीमाथि खनिए बालेन, गिरीबन्धु काण्ड थुमथुमाउन फुटपाथ विस्तारमा अवरोध गरेको आरोप

सोमबार, २१ जेष्ठ २०८१

सोमबार, २१ जेष्ठ २०८१

काठमाडौं । फेरि एक पटक एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच आरोप–प्रत्यारोप सुरु भएको छ । न्यूरोडको फुटपाथ विस्तारमा सडक विभागले अवरोध गरेसँगै मेयर साह ओलीमाथि खनिएका छन् । विभागमार्फत अध्यक्ष ओलीले आफ्नो योजनामा अवरोध गरेको आरोप मेयर साहको छ ।



गिरीबन्धु काण्डलाई लुकाउन ओलीले फुटपाथ विस्तार रोक्ने काम गरेको मेयर साहको आरोप छ । “१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू”, सामाजिक सञ्जालमार्फत मेयर साहले भनेका छन्, “यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । ”

काठमाडौंलाई छाडेर अन्य ठाउँका आयोजनामा ध्यान लगाउन ओलीलाई मेयर साहको आग्रह छ । गिरीबन्धुमा पीडितका बैना फिर्ता गर्न पनि मेयर साहको आग्रह छ । नत्र फेरि जेल जाने अवस्था बन्ला भन्ने चेतावनी मेयर साहले दिएका छन् ।

“आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो, तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला, हामी साथमा छौँ”, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।”

अध्यक्ष ओली र मेयर साहबीच केही समययतादेखि नै आरोप–प्रत्यारोपको श्रृंखला चलिरहेको छ । महानगरपालिकाका प्रत्येक गतिविधिमा ओलीले अवरोध गरिरहेको आरोप मेयर साहले लगाउँदा अध्यक्ष ओलीले भने उनको गतिविधि तानाशाही खालको भन्दै विरोध गरेका छन् ।

सकड विभाग अगाडि फोहोर फालिएकोमा विरोध गरेका ओलीले मेयर साहले उच्छृंखलता देखाइरहेको आरोप लगाएका थिए । “मलाई छिमेकीसँग अलिकति चित्त बुझेन रिस उठ्यो भने घरको फोहोर–सोहोर जम्मा गरेर उसका ढोकामा फ्याँकिदिने ? यो कुनै सभ्यता हो ?”, शनिबार पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले भनेका छन्, “यो महत्वपूर्ण पोस्टमा बस्ने मान्छेले गर्न मिल्ने ब्यवहार होइन, त्यत्ति पनि भन्न सकिँदैन, लाचारीबाट फाइदा लिएर एउटा एनार्किजमको बोलवाला भइरहेको छ, हामीले हाम्रो समाजलाई एनार्किस्ट बनाउन खोजेको होइन, डेमोक्रेटिक बनाउन खोजेको हो ।”

फुटपाथ विस्तार, सडकमा पार्किङ, सुकुम्बासी हटाउनेलगायत मेयर साहका कदमलाई ओलीले विरोध गर्दै आएका छन् । एमाले निकटको सुकुम्बासी संघले नै मेयर साहको सुकुम्बासी हटाउने योजना असफल बनाइएदिएको थियो ।

पछिल्लो समय गिरीबन्धु टी इस्टेट काण्डमा सर्वोच्च अदालतको पूर्णपाठ आएपछि मेयर साहले ओलीमाथि कारबाहीको माग गर्दै आएका छन् । उनले सरकारसँग ओलीलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट