काठमाडौं । अमेरिका र वेष्ट इण्डिजमा जारी टी २० विश्वकपमा नेपालले मंगलबार नेदरल्याण्डससँग पहिलो खेल खेल्दै छ । एक दशकपछि दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाली टोलीमा सहभागी २० देशमध्ये सबैभन्दा युवा खेलाडी छन् ।
विश्वकपमा नेपाली टोलीका कप्तान रोहित पौडेल सबैभन्दा कान्छा कप्तान हुन् । उनी जम्मा २१ वर्षमै कप्तान बनेर विश्वकप खेल्ने कीर्तिमान बनाए ।
समग्रमा नेपाली खेलाडीको औसत उमेर २३.७ वर्ष मात्रै छ । सबैभन्दा पाका खेलाडी ओमानका छन् । उनीहरूको औसत उमेर ३२.९ वर्ष छ ।
क्रिकेटमा आफ्नो पहिचान बनाउँदै गरेको नेपाली खेलाडीसँग विश्वकप खेलेको अनुभव छैन । टोलीमा सहभागी १५ खेलाडीमध्ये सोमपाल कामी मात्रै दोस्रो पटक पनि विश्वकपमा सहभागी छन् ।
यो विश्वकपमा सबैभन्दा कम उमेरको खेलाडी पनि नेपालकै छन् । नेपाली टोलीका अलराउण्डर गुल्सन झाले सबैभन्दा कम उमेरमा ९ औँ टी २० विश्वकप खेल्ने कीर्तिमान बनाए ।
आईसिसीले विश्वकपका लागि २५ मेसम्म १५ खेलाडीको सूची पठाउन समय दिएको थियो । सहभागी २० राष्ट्रले आआफ्नो देशका १५ खेलाडीको सूची पठाउँदा गुल्सन १८ वर्ष १०६ दिन मात्रै पुगेका थिए । उनीपछि नामिबियाका पिटर डानियर ब्लिग्नट १८ वर्ष २१८ दिन पुगेका थिए ।
आईसीसीले सार्वजनिक गरेको सबैभन्दा कम खेलाडीमा नेपालबाट गुल्सनसहित प्रतिश जिसी र कुशल मल्ल पनि परेका छन् । जसअनुसार जिसी २० वर्ष १२ दिन पुगेका छन् भने मल्ल २० वर्ष ९० दिन पुगेका छन् । नेपाली टोलीमा बलिङ र ब्याटिङमा राम्रो छाप छाड्न सफल रहेका मल्लले सबैभन्दा कम बलमा शतक बनाउने विश्व कीर्तिमान बनाएका छन् ।
नभई नहुने गुल्सन
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई र कप्तान पौडेलले हरेक खेलमा गुल्सनलाई समेट्दै आएका छन् ।
टोलीलाई आवश्यक परेमा कसिलो बलिङ र आक्रमक ब्याटिङ गर्न सक्ने उनको खुबी हो । उनले आफ्नो खेलबाट विपक्षी टोलीलाई दबाबमा राख्न सक्छन् । टोलीलाई जिततर्फ डोराउन सक्ने उनले अहिलेसम्म राष्ट्रिय टोलीबाट २९ टी २० आई खेलेका छन् ।
जसमध्ये २२ इनिङ्समा क्रिजमा पुगेका उनले एक अर्धशतकसहित ३६२ रन बनाएका छन् भने २३ इनिङ्समा बलिङ गर्दा १९ विकेट लिए । उनले नेपालको उमेर समूहको यू-१९ टोलीबाट विश्वकप खेलेका छन् ।
यो पनि पढ्नुहोस्