काठमाडौं । निश्चल खड्काले फिल्म ‘लण्डन टू पेरिस’बाट डेब्यु गर्दै छन् । जेठ २५ गतेबाट प्रदर्शन हुने फिल्म मुख्यमा नायकको रुपमा डेब्यु गर्दै छन्, उनी । उनले यो फिल्म विशेष हुने बताउँछन् ।
घनश्याम लामिछाने निर्देशित फिल्ममा निश्चलसँगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का र गरिमा शर्माको प्रमुख भूमिका छ । ट्राभल लभ स्टोरीको कथा पेस गर्ने फिल्ममा निश्चलको जोडी अभिनेत्री साम्राज्ञीसँग बाँधिएको छ ।
यता, फिल्मको ट्रेलर सार्वजनिक भएपछि धेरैले निश्चललाई सम्भावना बोकेको कलाकारका रुपमा हेर्न थालेका छन् । उनको लुक्स र डाग डेलिभरीको तापरिफ भइरहेको छ ।
हुन त निश्चलले ‘लण्डन टु पेरिस’ अघि थुप्रै फिल्मका लागि अडिसन दिएका थिए । यो फिल्ममा अर्का कलाकार कवीरमार्फत उनी यसमा जोडिएको बताउँछन् ।
निश्चलले भन्छन्, ‘मैले दुई वटा फिल्मको लागि अडिसन दिएर साइन पनि गरेको थिएँ, तर के कारणले गर्दा हो ती फिल्म बनेनन् । एक दिन क्याफेमा कफी पिउँदै जीवनलाई कसरी अगाडि बढाउने भनेर सोचिरहँदा कवीरले फिल्मको लागि अडिसन भइरहेको छ भन्दै अडिसन दिन फोन गर्यो, दुई वटा फिल्ममा साइन गरेर पनि नबनिरहँदा कतै यो फिल्म पनि त्यस्तै हुने पो हो कि भन्ने डर थियो, तर डर केवल डरमै सीमित भयो, किनकी फिल्मको काम सुरु भएपछि त्यो डर हरायो ।’
फिल्ममा निश्चलले ‘अपिल’ चरित्र निर्वाह गरेका छन् । ‘यो फिल्मको स्क्रिप्ट पढ्दा म धेरै खुशी भएँ । देशबाहिरको कथावस्तु थियो । लण्डनदेखि पेरिसम्म पुगेको प्रेमकथा थियो । अपिल भन्ने २८ वर्षे केटाको प्रेमकथाको यात्रा हो । अपिलको इमोसनमा कति उतारचढाव आउँछ भन्ने सिनेमामा देखाएको छु’, उनी भन्छन्, ‘अपिल आफ्नो माया पाउनका लागि कुन हदसम्म जान्छ भन्ने देखाएको छु । उसले प्रेम पाउनका लागि लण्डनदेखि पेरिसम्मको यात्रा गर्छ । आफ्नो सपना पूरा गर्न कतिसम्म लाग्नु पर्छ भन्ने मेरो पात्रले देखाएको छ ।’
निश्चलका अनुसार फिल्मको चरित्र र उनको वास्तविक चरित्र धेरै भिन्न छ । सिनेमामा गौरव (कवीर खड्का)ले उनलाई सल्लाह दिन्छन् र त्यही सल्लाहअनुसार उनी काम गर्छन् । ‘सिनेमामा म अरुको सल्लाह लिए पनि वास्तविकतामा म आफै निर्णय लिन्छु । स्क्रिप्ट पढ्दा पनि यस्तो खालको केटा रहेछ भन्ने भएको थियो । म कलाकार हो । कलाकार बहुरुपी नै हुन्छ । तर त्यो चरित्रमा अभिनय गर्दा भने मजा नै आयो ।’
निश्चल भन्छन्, ‘साम्राज्ञीबाट छायांकनको बेला मैले धेरै सिक्न पाएँ। साम्राज्ञीभन्दा म एकदमै जुनियर हुँ । उहाँ सिनियर हुनुहुन्छ । कति कुरा सिनियरबाट सिक्न सकिन्छ । उमेरले हामी लगभग एउटै भए पनि ‘प्रोफेसन’को हिसाबले उहाँ एकदमै परिपक्व हुनुहुन्छ ।’