काठमाडौं । “अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौँ पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर, जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु, धेरै टेन्सन लिनुपर्दैन ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिनुअघि एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति हो यो । आफूले विश्वासको मत लिन लागेको सन्दर्भमा गरिएको टिप्पणीप्रति प्रचण्डले प्रतिक्रियात्मकरुपमा यस्तो अभिव्यक्ति दिएका थिए ।
हुन पनि पटक–पटक सत्ता समीकरण हेरफेर भइरहँदा र सत्ता साझेदारभित्रै चरम विवाद देखिँदा पनि प्रचण्डले विश्वासको मत पाइरहेका छन् । पछिल्लो पटक जेठ ७ मा विश्वासको मत लिँदै गर्दा एकातिर प्रतिपक्षी दल नेपाली कांग्रेस संसद अवरोधमा उत्रिएको थियो भने सत्ता साझेदार दलहरुभित्रै विवादको अवस्था बनेको थियो ।
एकीकृत समाजवादीभित्र अन्तिम समयसम्म पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा विवादको अवस्था थियो । यद्यपि, प्रचण्डले सहज विश्वासको मत पाए ।
उनमा देखिएको ‘कन्फिडेन्ट’लाई हेर्दा उनले फेरि–फेरि पनि विश्वासको मत पाइरहन सक्छन् ।
२०७९ पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डको कार्यकाल डेढ वर्षमा हिँड्दैछ । संसदमा ३२ सिटसहित तेस्रो दल नेकपा (माओवादी केन्द्र)का प्रचण्ड तत्कालिन समय नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
आम निर्वाचनमा कांग्रेसलगायतसँगै गठबन्धन गरेर लडेपनि प्रचण्डले सरकार गठनको बेला समीकरण फेरेरका थिए । कांग्रेससहितको गठबन्धनलाई तोड्दै प्रचण्डले एमालेसहितको गठबन्धन बनाएका थिए ।
यद्यपि, एमालेलगायतसँग मिलेर सरकार निर्माण गरेपनि प्रचण्डले लगत्तै कांग्रेससँग समीकरण बनाए । राष्ट्रपतिको निर्वाचन २०७९ फागुन २५ सँगै सत्ता साझेदारबीच फाटोको अवस्था बनेको थियो । सोही घटनापछि कांग्रेस सत्तामा फर्किएको थियो ।
राष्ट्रपतिको निर्वाचनसँगै बनेको कांग्रेस–माओवादी गठबन्धन पनि धेरै भने टिक्न सकेन । राष्ट्रियसभा अध्यक्षको निर्वाचनको सम्मुखमा कांग्रेस सत्ताबाट बाहिरियो भने एमाले पुनः सत्तामा भित्रियो । २०८० फागुन २१ मा भएको सहमतिसँगै एमाले सत्तामा फर्किएको थियो ।
अनौठो विषय, पटक–पटक सत्ता समीकरण हेरफेर भइरहे पनि सत्ताको नेतृत्वमा भने प्रचण्ड कायमै छन् ।
छैन सत्ताबाट बाहिरिनुपर्ने त्रास
पछिल्लो पटक सत्ता समीकरण परिवर्तन हुँदै गर्दा प्रचण्डले निकै कठोर र रुखो भाषा साझेदार दलहरुप्रति व्यक्त गरेका थिए । उनले आफूलाई उपयोग गर्न खोज्ने जोसुकैलाई पनि बाँकी नराख्ने चेतावनी दिएका थिए ।
“मलाई कतिपयले अनप्रेडिक्टेवल भन्छन् तर, म श्रमिक, घाइते अपाङ्ग, र नेपाल राष्ट्रप्रति प्रेडिक्टेवल नै छु”, राष्ट्रिय सभाम घरमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा प्रचण्डले भनेका थिए, “उनीहरूप्रति इमानदार हुने कुरामा त म जहिले पनि निरन्तर कायम छु, तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु ।”
प्रचण्डको अभिव्यक्ति कांग्रेससँगको सहकार्य टुटेर एमालेसँग सहकार्य जोड्दै गर्दा आएको थियो । जसमा दुवैलाई घुमाउरो कोणबाट चेतावनी दिएका थिए ।
संख्यामा कमजोर र अन्यको साहारामा चल्नुपर्ने प्रचण्डले कसरी सहयोगीलाई यस्तो चेतावनी दिए ? प्रचण्डको भाषाप्रति राजनीतिक वृत्तमा त्यति धेरै समीक्षा भने भएको छैन ।
प्रचण्डप्रति ‘लत्रक्क’ छ एमाले
प्रचण्ड नेतृत्वको सरकार बनाउन गणितका हिसाबले एमालेको निकै महत्वपूर्ण योगदान छ । माओवादी केन्द्रभन्दा साढे दुई गुणा ७६ सिट (सभामुख र एक निलम्बितसहित)ले ठूलो एमाले वर्तमान सत्ता समीकरणको मुख्य दल हो । यद्यपि, ठूलो दल भएपनि एमाले पनि प्रचण्डप्रति लत्रक्क भएको देखिन्छ ।
अहिले एमाले, बजेट ल्याउँदा आफूसँग सामान्य सल्लाह पनि नगरिएको भन्दै गुनासो पोखिरहेको छ । एमालेले सदनमा रुन्चे स्वरमा आफ्नो असन्तुष्टि पोखेको थियो ।
“दुखेसो, सरकारको प्रमुख घटक मेन पिल्लरसँग सल्लाह सुझाव गरेको पाइएन, अझै राम्रो बनाउन थप छलफल गरेको भए हुन्थ्यो, अर्थमन्त्रीको समय भएन कि ध्यान पुगेन ? नियत नै त्यस्तो भनेर शंका गर्दिनँ”, आइतबार संसद बैठकमा बोल्दै एमालेका सांसद गोकुल बाँस्कोटाले भनेका थिए ।
स्वयम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफूहरुसँग छलफल नगरेको भन्दै सार्वजनिकरुपमा गुनासो पोखिरहेका छन् । आइतबार संसद भवन अगाडि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै ओलीले भनेका थिए, “गुनासो होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।”
सरकारको सबैभन्दा ठूलो दल एमाले, तर उहीसँग समेत सल्लाह हुँदैन भने प्रचण्ड सरकार कसरी र कहाँबाट चलेको छ ? प्रचण्डले कसको सहयोगमा सत्ता चलाइरहेका छन् ?