थापा पक्राउपछि ‘रावायण’को सुटिङ रोकियो, अनुमतिविना विदेशमा फिल्म बेचेको भन्दै निर्माताको जाहेरी-Sutra News

थापा पक्राउपछि ‘रावायण’को सुटिङ रोकियो, अनुमतिविना विदेशमा फिल्म बेचेको भन्दै निर्माताको जाहेरी

‘प्रसाद २’ प्रकरणमै अर्का निर्माता सुवास थापा पनि फरार

सोमबार, २१ जेष्ठ २०८१

सोमबार, २१ जेष्ठ २०८१

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेपछि उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रावायण’को छायांकन रोकिएको छ । आजबाट काठमाडौंबाट फिल्म छायांकन सुरु गर्ने तयारीमा रहेका थापालाई प्रहरीले आपराधिक लाभ तथा विश्वाघातको आरोपमा पक्राउ गरेपछि छायांकन रोकिएको हो ।



‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतको जाहेरीका आधारमा थापा पक्राउ परेका हुन् । उनीमाथि एक करोड ५० लाख ठगी गरेको आरोप छ । अब महानगरी वृत्त बौद्धको हिरासतमा राखेर उनीमाथि अनुसन्धान हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए । जाहेरी दिएका निर्माता बस्नेतले आफ्नो अनुमतिविना थापाले विदेशमा फिल्म बेचेको आरोप लगाएका छन्। ‘म प्रसाद २ को निर्माता हुँ तर सुदर्शन थापाले मेरो अनुमतिविना विदेशमा ९० लाखमा फिल्म बेचे,’ निर्माता बस्नेतले सूत्रन्यूजसँग भने, ‘अनि ओएसएआर डिजिटलका ओमप्रकाश अग्रवाललाई पनि ६० लाखमा डिजिटल राइट्स दिएछन् । त्यसैले जाहेरी दिएको हुँ ।’ यसअघि अग्रवालपनि यही प्रकरणमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका थिए ।

रोयल इम्पायर होटलमा ‘रावायण’को सुटिङ तयारी गरिरहेका बेला प्रहरी वृत्त मालिगाउँले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त मालिगाउँले थापालाई पक्राउ गरेर जाहेरी दर्ता भएको प्रहरी वृत्त बौद्धमा पठाएको छ । निर्देशक थापाले ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’, ’अझै पनि’, ’प्रसाद २’, ‘सम्हालिन्छ कहिले मन’लगायतका फिल्म निर्देशन गरेका छन् ।

‘प्रसाद २’ ठगी प्रकरणमै फिल्मका अर्का निर्माता सुवास थापा पनि मुछिएका छन् । उनीमाथि बैंकिङ कसुरको जाहेरी पछि उनी फरार छन् । फिल्म निर्माता बनाउने भनेर व्यवसायी केशव पाण्डेसँग उनले ६२ लाख बढी रकम लिएर ठगी गरेको आरोप छ । ठगीविरुद्ध पाण्डेले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि त्यसकै आधारमा जिल्ला अदालत काठमाडौंमा मुद्दासमेत दर्ता भइसकेको छ । तर थापा भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट