बालेनको अवरोधलाई छिचोल्दै विभागले गर्‍यो न्यूरोडमा कालोपत्रे-Sutra News

बालेनको अवरोधलाई छिचोल्दै विभागले गर्‍यो न्यूरोडमा कालोपत्रे

सोमबार, २१ जेष्ठ २०८१

सोमबार, २१ जेष्ठ २०८१

काठमाडौं । सडक डिभिजन कार्यालयले फुटपाथ विस्तारका लागि खनिएको न्युरोड क्षेत्रको सडकमा कालोपत्रे गरेको छ । मापदण्ड अनुसार नभएको भन्दै काठमाडौं महानगरले न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दायाँ–बायाँ सडक काटेको थियो ।



महानगरको कदम कानून विपरित भएको भन्दै सडक डिभिजन कार्यालयले सो क्षेत्रको सडक मर्मत गर्दै पुनः कालोपत्रे गरेको हो ।

यद्यपि, कालोपत्रे गर्ने क्रममा काठमाडौं महानगरका नगरप्रहरीले रोक्न खोज्दा केही बेर विवाद भएको थियो । स्थानीयहरुले सडक कालोपत्रे गर्न दिनुपर्ने भनेपछि महानगर प्रहरीपछि हटेका थिए ।

सरकारी निकायहरु सडक डिभिजन कार्यालय र काठमाडौं महानगरबीच आपसी समन्वयन नहुँदा समस्या देखिएको स्थानीयहरुले बताएका छन् । उनीहरुले सबैको सहमतिमा हुने कामको कसैले विरोध नगर्ने भन्दै एकलौटी बलमिच्याइ भएका कारण अहिले विवाद भएको जिकिर गरे ।

“सडक ऐन, २०१९ अनुसार आठ मिटरभन्दा मुनिको सडक स्थानीय सरकारले हेर्न पाउँछ, त्योभन्दा माथिको सडक संघीय सरकारले हेर्ने भन्ने व्यवस्था छ, जुन व्यवस्थाअनुसार महानगरको क्षेत्राधिकारभित्र यो सडक पर्दैन”, न्यूरोडका एक स्थानीय भन्छन्, “तर, यो हाम्रो मल्लकालिनदेखि सडकलाई आफ्नो अधिनमा ल्याउन जबरजस्ती टेण्डर निकालेर सात मिटरमा ल्याउन कोसिस भयो, त्यो सही थिएन, यद्यपि, यसमा मेयर जबरजस्तीरुपमा लाग्नुभयो ।”

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै विशालबजार क्षेत्र अगाडिको सडकको कालोपत्रे काटेको थियो । तर, महानगरको कदम कानूनबिपरित भएको भन्दै सडक डिभिजन कार्यालयले सडक मर्मत गर्न निर्देशन दिएपनि सो अनुसार काम हुन नसकेपछि कार्यालय आफैले सडकमा कालोपत्रे गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट