नेपाल क्लियरिङ हाउसमा गाभियो नेप्स-Sutra News

नेपाल क्लियरिङ हाउसमा गाभियो नेप्स

सोमबार, २१ जेष्ठ २०८१

सोमबार, २१ जेष्ठ २०८१

काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सोही प्रकृतिको अर्को कम्पनी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गरी आजबाट ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’ कायम भएको छ ।



नेपाल राष्ट्र बैंकका अनुसार साविकको नेप्सेको सम्पूर्ण दायित्व तथा सम्पत्ति आजबाट नेपाल क्लियरिङ हाउसमा सरेको हो । गत चैतमा एनसीएचएलले नेप्सलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौता भएको थियो ।

उक्त सम्झौतापछि दुवै संस्थाहरुले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत आफ्नो शेयरधनीहरुको समर्थन लिइ नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति मागेका थिए ।

बैंक वित्तीय संस्थाबाट प्रवद्र्धित दुवै संस्था नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि सञ्चालनमा थिए । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमका लागि कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिँदै आएको थियो ।

त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार प्ल्याटफर्ममार्फत आफ्नो सदस्यहरुलाई सेवा दिँदै आएको थियो । प्राप्ति प्रक्रिया सकिएसँगै दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरिएको छ ।

विसं २०६५ पुसमा स्थापना भएको एनसीएचएलले एनसीएचएल–इसीसी, एनसीएचएल–आइपीएस, कनेक्ट आइपीएस, कर्पोरेट पे, कनेक्ट आरटीजिएस, नेसनल पेमेन्ट इन्टरफेस, नेपाल पे क्युआरजस्ता भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ ।

हाल एनसीएचएलले एनपीएसअन्तर्गतको नेशनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दा बढी बैंक वित्तीय संस्था र एक सयभन्दा बढी अन्य संस्था र निकायले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका थिए ।

त्यसैगरी विं.सं. २०६९ फागुनमा स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाका लागि केन्द्रिकृत रुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्ने काम गर्दै आएको थियो ।

नेप्सअन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाको एक हजार छ सयभन्दा धेरै एटीएम, नौ हजारभन्दा बढी पिओएसमार्फत सेवा र इकमर्स कारोबारको सेवा उपलब्ध गराउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट