काठमाडौं । जारी टी २० विश्वकपअन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समूह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ ।
अमेरिकाको डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि शुरु हुने छ । आइसीसीको टी २० वरियतामा नेपाल १७ औँ स्थानमा छ । नेदरल्याण्डस १५ औँ स्थानमा छ ।
नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म १२ टी २० खेल भएका छन् । जसमा नेदरल्याण्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।
नेपालको यात्रा
नेपालले १० वर्षपछि टी २० विश्वकपमा कम ब्याक गरेको हो । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।
नेपालले पहिलो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जिते पनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
नेपाली टिम
नेपालले विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ ।
नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
नेपाल रहेको समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा आज नेदरल्याण्डससँग खेल्दै छ ।
बाँकी खेलहरू जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।