काठमाडौं । टेलिफिल्म ‘जिरे खुर्सानी’का बाल कलाकार जिरे चर्चित थिए । जिरेको भूमिकामा खेल्ने बाल कलाकारको नाम इशान राउत हो । अहिले इसानले ‘जिरे खुर्सानी’ खेल्दैनन् तर बाल-कलाकारको रुपमा अभिनय गरेपछि उनको चर्चा निकै चुलियो । आम दर्शकले उनलाई ‘जिरे’ उपनामले समेत चिन्ने गरेका थिए ।
थिुप्रै फिल्ममा समेत बाल-कलाकार भएर अभिनय गरेका जिरे लामो समयदेखि मिडियामा देखिएका थिएनन् । बाल-कलाकारको रुपमा स्थापित भएका इशान अब ठूलो भइसकेका उनै जिरे बसन्त निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म ‘ज्वाइँ साब’मा जोडिएका छन् ।
मकवानपुरको चित्लाङमा छायांकन भइरहेको ‘ज्वाइँ साब’मा देखिन् लागेका इसानको फिल्ममा कस्तो भूमिका रहनेछ भन्ने बिषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन ।
रोचक कुरा त के छ भने, यो फिल्मको शिर्ष भूमिकामा जीतु नेपालले अभिनय गरिरहेका छन् । जीतुले नै निर्देशन गरेको ‘जिरे खुर्सानी’बाट इशान स्थापित भएका थिए । तर, फिल्ममा उनलाई र जितु नेपाललाई एकसाथ देख्दा दर्शकको ध्यान तानिने देखिन्छ ।
चित्लाङमा २० दिन खिचेर यसको निर्माण पक्ष सौराहा र इलाम पुग्नेछ । फिल्ममा जितुको जोडीको रुपमा नीति शाहले अभिनय गरिरहेकी छिन् ।
राजकुमार पण्डितको प्रस्तुतिमा तयार भइरहेको यो फिल्मलाई तिहारमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ । यो फिल्ममा वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ ।
बिजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।