काठमाडौं । थुप्रै नेपालि स्टारहरु जन्माउन सफल होस्टलको तेस्रो सिरिज बन्ने कुरा चलेसँगै यस सिरिजमा अव कस्को भाग्य चम्केला भन्ने धेरैको जिज्ञासाको विषय थियो । किनकी यसै सिरिजबाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। अहिले यी सबै सफल कलाकारका रुपमा स्थापित भएका छन् ।
‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। फिल्मको तेस्रो सिरिज ‘होस्टेल ३’का लागि केही साता अघि प्रमुख भूमिकामध्ये एकमा टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित ‘कुल ब्वाइ’ अर्थात् पारस बम अनुबन्धित भएका थिए। अहिले फेरी यो फिल्मको प्रमुख भूमिकामा रिहान गिरि, पदम तामाङ र सिम्रन पन्तको अनुबन्धित भएका छन्।
फिल्मको मुख्य कलाकारमा यी चार अनुबन्धित भएसँगै लाईनअप पुरा भएको निर्देशक सशान कँडेलले बताए। उनका अनुसार प्रमुख भूमिकामा अझै दुई कलाकारको जरुरत रहेको छ। रिहानभुटानका नागरिक हुन्। उनी नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन्।
उनले यसअघि दिवाकर भट्टराईको फिल्म ‘मायावी’मा अभिनय गर्ने तय भएको तर भिसाको समय सीमाको कारण काम गर्न पाएका थिएनन्।
रिहानलाई नै यो भूमिकामा लिनुको पछाडि विभिन्न कारणहरू रहेको जसमा प्रमुख कारण स्क्रिप्टले मागेको चरित्र रहेको उनले बताए। ‘हामीले लामो समयदेखि ‘मानव’ नामक पात्रको खोजीमा थियौँ। केही स्थापित कलाकारसँग पनि काम गर्ने विषयमा छलफल पनि भयो तर, हामीले एकदमै ‘फ्रेस’ महसुस हुने कलाकारको आवश्यकता देख्यौँ। अर्को कुरा हामीले ‘वेल टेस्टेड’ कलाकारबाट काम निकाल्न फिल्म बनाउन लागेका होइनौँ, नेपाली फिल्ममा युवा कलाकारको कमी महसुस भएपछि कोही कसैलाई त ल्याउनै पर्छ भन्ने लाग्यो,’ रिहानलाई प्रमुख भूमिमाका लिनुको कारण बताउँदै निर्देशकले भने, ‘त्यस कारण पनि रिहान गिरी र पारस बम जस्ता प्रतिभालाई अगाडी सारेका हौँ। त्यसमाथि पनि ‘होस्टेल’ चलचित्र शृङ्खलाको ुलिगेसी’ पनि स्थापित कलाकारबाट चलेको नभई ‘स्टार मेकर’को रूपमा आइरहेको छ। यसलाई ‘मेन्टेन’ गर्नु पनि हाम्रो दायित्व रहन्छ। रिहानले नेपाल र नेपाली चलचित्रलाई अत्यन्तै प्रेम गर्ने रहेछन्। नेपाली चलचित्रमा उनको प्रवेश दुई देशको सम्बन्धको लागि पनि अत्यन्त महत्त्वपूर्ण छ।’
अर्को प्रमुख भूमिकामा अनुबन्ध भएका पदम तामाङ भारतको सिक्किमका स्थायी बासिन्दा हुन्। उनी सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित रहेका छन्। सोसल मिडियामा चर्चित रहेका उनका लाखौँ ‘फ्यान’ रहेका छन्।
‘होस्टेल ३’को स्क्रिप्ट अनुसार मंगोलियन पात्रको जरुरत परेकोमा हामीले बहुपक्ष विचार गरी पदमलाई प्रस्ताव गरेको निर्देशक कँडेलले बताए। ‘देशभरबाट कलेज पढ्न काठमाडौं आएर होस्टेलमा बस्दा विभिन्न समुदायका विद्यार्थीहरूको जमघट हुने र त्यहाँ आ-आफ्नै कथाहरू रहने भएकाले हामीले सबै समुदायबाट पात्र छनोट गरेका छौँ। किन पदम नै भन्ने विषयमा चाहिँ हामीलाई ‘अर्ग्यानिक’ र ‘लाउड’ पात्रको जरुरत थियो, ‘जिते’ नामक सो पात्रमा उनलाई छानिएको हो। उनी यति मौलिक छन् कि उनका हरेक गतिविधिमा बिछट्टै कला भेटिन्छ,’ कँडेलले बताए।
फिल्ममा सशक्त भूमिकामा अनुबन्धित भएकी सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन्। निर्देशक कँडेलले यस फिल्ममा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताएका छन्। यस वर्षको अन्त्यतिर ‘होस्टेल ३’को रिलिज लक्ष्य राखी काम अघि बढेको निर्देशकले बताए।
‘होस्टेल ३’लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्। लाइन प्रोड्युसर कर्ण कार्की हुन्।