काठमाडाैं । संसदमा जारी बजेट छलफलमा आफ्ना सुझाव राख्न रोष्ट्रममा पुगेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले सभामा अर्थमन्त्री वर्षमान पूनलाई खोज्छन् । आक्रोश मिश्रित हल्का ब्यङ्ग्यको शैलीमा सोध्छन् “खोइ अर्थमन्त्री ?” ।
सभा चलाइरहेकी उपसभामुखले मधुर स्वरमा उत्तर दिन्छिन्, “यतै हुनुहुन्छ ।”
लिङ्देनले चस्माको फ्रेम अलि तल झारेर सांसदहरुको आसन कक्षतिर चियाउँदै फेरि सोधे ? “खोइ कहाँ हुनुहुन्छ, म त देख्दिन त ? वहाँले सुन्नुहोला भनेर पो सुझाव लिएर आएका हौँ त । यो ठिक छ, यो ठिक छैन भनेर वहाँलाई भनौला भनेर ।”
उपसभामुखको जवाफ आउँछ, “त्यहाँ राष्ट्रियसभामा हुनुहुन्छ” । लिङ्देनको आवाजको टोन अझै कडा बन्छः “अनि हामी यहाँ यत्तिकै बोल्ने, अनि जाने ?”
यत्तिकैमा नेकपा (एमाले)का सांसद दयालबहादुर शाहीले उपसभामुखसँग सवाल जवाफ गरी दोहोरी खेलेको भन्दै आपत्ति जनाउँछन् । लगत्तै, त्यसको प्रतिरोध राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले गर्छन् र बजेट छलफलमा अर्थमन्त्री हुनुपर्ने नियम स्मरण गराउँछन् ।
यतिबेलासम्म ब्रेकमा गएका सभामुख देवराज घिमिरेले सभा फेरि चलाउन थालिसकेका हुन्छन् र लिङ्देनलाई आसन ग्रहणका लागि आग्रह गर्दै अर्थमन्त्री आएपछि छलफल गर्ने भन्दै सभा केही क्षणका लागि बैठक स्थगित गर्छन् ।
मंगलबार बजेट छलफलका क्रममा देखिएको दृष्य हो यो । दृष्य स्वभाविक जस्तो लागे पनि बजेट छलफल कति कर्मकाण्डी हुन्छ भन्ने कुराको छनक पाइन्छ यहाँ । यहाँ स्मरणीय छ, सोमबारको बैठकमा निदाएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले बैठक दिक्क लाग्दो भएको प्रतिकृया दिएका थिए ।
अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसदमा पेश गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटबारे संसदमा छलफल चलिरहेको छ । तर, यो छलफल हेर्दा यस्तो लाग्छ, संसदमा बजेट छलफल होइन, एक अर्काको नाम जोडिएका काण्ड र आरोपप्रत्यारोपको प्रतिष्पर्धा चलिरहेको छ ।
मंगलबारको बजेट छलफलमा कांग्रेस गृहमन्त्री रवि लामिछाने, उनीसँग जोडिएका काण्ड, उनको अभिव्यक्ति र सत्तारुढ दलका सांसदहरको आरोपको जवाफमा केन्द्रित रह्यो । नेकपा एमाले, अध्यक्ष केपी ओलीमाथिको बालेन आक्रमणको प्रतिरोध र अन्य आरोपको खण्डनमा केन्द्रित रह्यो । अन्य सांसद पनि आरोप प्रत्यारोपको अंशियार बने ।
एमालेका सांसद योगेश भट्टराईले विगतमा भएको संसद अबरुद्धको प्रसंग उठाएर कांग्रेसमाथि प्रश्न गरे । उनले ज्युँदै मानिसलाई भट्टीमा जलाउने हर्कत एमालेले गर्न सक्दैन भन्दै सबै किसिमका अपराध र काण्डको छानविन गर्न एमाले तयार रहेको दावी गरे । उनले ओलीमाथि बालेनको पछिल्लो ब्यवहारको पनि विरोध गर्न भ्याए ।
बजेटका विषयमा केही समय बोलेका नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी पनि पछि भ्रष्टाचार काण्डहरुको प्रसंग उप्काउँदै सरकार र सत्तारुढ दलहरुमाथि खनिए ।
सोमबार संसदमै निदाएपछि बैठक दिक्कलाग्दो भएको प्रतिकृया दिएका राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी पनि मंगलबारको बैठकमा आरोप प्रत्यारोपमै केन्द्रित भए । उनले सत्ता र शक्तिमा रहेकाहरुले सहकारीको रकम अपचलन गरेको भन्दै रास्वपा र गृहमन्त्री रवि लामिछानेको सातो लिए ।
सहकारी काण्डले लामो समय संसद बन्धक बन्यो । सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि संसदले छानविन समिति बनाएको छ । तर दल र सांसदहरुको कुण्ठा अझै सकिएको छैन । बजेटका विषयवस्तु नै ओझेलमा पर्ने गरी दल र सांसदहरु अझै पनि सहकारीसहीतका अन्य काण्डमै केन्द्रित छन् । कसले कोविरुद्ध चर्को बोल्ने, कसले कसलाई थला पार्ने होडले बजेट छलफल आरोप प्रत्यारोपको दलदलमा परिणत हुने खतरा देखिएको छ ।
त्यसो त सांसदहरुले बजेटका विषयवस्तु, यसको प्राविधिक पक्ष र आम जनतासँग जोडिएका सन्दर्भहरुलाई पनि नउठाएका होइनन । रास्वपाका सांसद स्वर्णीम वाग्लेसहितका केहि सांसदले बजेट र आम जनताका समस्याका विषयलाई उठाएका थिए । तर घम्साघम्सीका बीचमा उठेका यस्ता कुरा सरकारको कानसम्म पुग्ला कि नपुग्ला ? शंका छ ।
संसदमा बोल्न पाउँदा संसदीय मर्यादामा रहेर के बोल्ने, त्यो सांसदहरुको स्वतन्त्रताको कुरा हो । तर बजेट छलफल नै राजनीतिक कुण्ठा पोख्ने माध्यम बन्नुले सकारात्मक सन्देश जाँदैन । संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो । जनताका प्रतिनिधिद्वारा जनताका समस्या सरकारसम्म पुर्याउने थलो हो । त्यसैले बजेटका विषयमा सघन छलफल हुने हो भने अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट अझै बढि विकास र समृद्धि अनुकुल हुन्थ्यो कि ?