काठमाडौं । फिल्म ‘मायाका रंगहरु’मा बन्ने भनेर घोषणा भएको ६ महिना भन्दा बढी समय वितिसकेको छ । केवल तामाङले निर्माण तथा निर्देशक गर्ने भनिएको यस फिल्मको छायांकन गत वर्षकै फागुन अन्त्यदेखि भारतको सिक्किममा सुरु हुने बताइए पनि हालसम्म छायांकन जाने टुङ्गो अझै लागेको छैन ।
इन्डो-नेपाल फिल्म रहेको यस फिल्मको छायाकंन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा हुने बताइएको छ । फिल्मको निर्माण टिमको यतिबेलाको गतिविधि हेर्ने हो भने कलाकारको लाइन-अप देखाउन बेस्त छ । सुरुवातमा नायक पल शाह अनुबन्धित गारएका निर्देशक तामाङले आजको दिनसम्म आइपुग्दा पनि कलाकार अनुबन्धित गराएको मात्रै भनिरहेको देखिन्छ ।
उनको डेब्यु निर्देशन रहने यो फिल्ममा पल शाहपछि कुन्दन भारद्धाज त्यपछि कलाकार सुनिल थापा र बुद्धि तामाङ भित्र्याए । हालै पनि यो टिमले सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित गराएको छ । उनलाई निर्देशक तामाङले हालै काठमाडौंमा रहेका बेला अनुबन्धित गरेका हुन् ।
कमेडियन तामाङ गरिमा इन्टरटेनमेन्टका सञ्चालकसमेत हुन् । यता फिल्मका लागि प्रमुख नायिकाको खोजी भइरहेको निर्देशक तामाङले बताएका छन् । यसमा उनले अब फेरी एकपछि अर्को गर्दै नायिकाहरुको लाइन-अप सार्वजनिक गराउने त हैनन् भन्नेमा धेरै आशङ्का गरी राख्नु पर्दैन होला !
प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता पुनम तामाङ हुन् । आरबी थाङदेन निर्माता रहेको फिल्मका सह-निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल रहेका छन्।
फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।
फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।