काठमाडौं । निर्देशक सुदर्शन थापालाई थप दुई दिन हिरासतमा राखिने भएको छ । उनलाई अझै दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।
आपराधिक विश्वासघातको आरोपमा निर्माता सुदर्शन बस्नेतले निर्देशक थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । आर्थिक कारोबारमा पारदर्शिता नभएको निर्माताको आरोप छ । आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद-२’लाई प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।
उनलाई सोमबार प्रहरीले फिल्मको छायांकन सुरु गर्न लागेको समयमा पक्राउ गरेको थियो । रोयल इम्पायर होटलमा ‘रावायण’को सुटिङ तयारी गरिरहेका बेला प्रहरी वृत्त मालीगाँउले सुदर्शनलाई पक्राउ गरी जाहेरी दर्ता भएको प्रहरी वृत्त बौद्धमा पठाएको थियो ।
अब उनलाई दुई दिन हिरासतमा राखी अनुसन्धान गरिने छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीका अनुसार अदालतले २ दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यस अघि सूत्रन्यूजसँग निर्माता बस्नेतले भनेका थिए, ‘म प्रसाद २ को निर्माता हुँ तर सुदर्शन थापाले मेरो अनुमतिविना विदेशमा ९० लाखमा फिल्म बेचे, अनि ओएसएआर डिजिटलका ओमप्रकाश अग्रवाललाई पनि ६० लाखमा डिजिटल राइट्स दिएछन् । त्यसैले जाहेरी दिएको हुँ ।’
यसअघि अग्रवाल पनि यही प्रकरणमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका थिए । अब सुदर्शनको केसमा चैँ कसको पक्षमा निर्णय हुन्छ, त्यो भने समयले नै बताउने छ ।
यता, सुदर्शन पक्राउ परेसँगै फिल्म ‘रावायण’को छायांकन भने प्रभावित बनेको छ । सर्लाही र हेटौँडाको छायांकन सकेर यसको निर्माण पक्ष काठमाडौँ फर्किएको केही दिन भइसकेको छ । भदौ २१ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको काठमाडौँको छायांकन अझै सुरु हुन सकेको छैन ।बुझिएअनुसार फिल्मको छायांकन अझै ३० प्रतिशत बाँकी छ ।