पोखरा । सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पोखरामा कालो झण्डा र ब्यानर देखाएका छन् ।
बुधबार पोखरा सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।
कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसँगकाे धकेलाधकेलमा दुई जना प्रदर्शनकारी घाइते भएका छन् ।
सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताएअनुसार ७८ वर्षीय भीमप्रसाद चपाईँ र अनुराधा श्रेष्ठ घाइते भएका छन् । उनीहरूलाइ अस्पताल लगिएकाे छ ।
सहकारी पीडितहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए ।
सहकारीका पीडितले न्याय माग्दा धरपकड भएको भन्दै संयोजक किरण श्रेष्ठले राज्य कसको पक्षमा छ भन्ने देखिएकाे बताए ।