काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिन लागिएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका छन् । दिउँसो ३ बजेका लागि बाेलाइएकाे बैठकअघि मुख्यमन्त्री यादवले कार्यसूची सार्न पत्र पठाएका हुन् ।
उनले आफ्नाे स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा गतेका लागि बैठक बाेलाउन आग्रह गरेका छन् । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्नेछ ।
जसपा नेपालका मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ तर, लोसपा के गर्नेमा अनिर्णित छ ।
एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतले बेग्लै गठबन्धनकाे सरकार बनाउने प्रयास थालिरहेका छन् । यस्ताेमा बहुमत आउन नसक्ने देखेपछि मुख्यमन्त्रीले समय सार्न लगाएका हुन् ।