काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक बस्ने भएको छ ।
समितिको पहिलो बैठक सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा दिउँसो २ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि जेठ १५ गते एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो ।
सात सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरू ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।