काठमाडौं । आगामी आर्थिक वर्षकाे लागि प्रस्तुत बजेटप्रति क्रसर उद्योगीले असन्तुष्टि पाेखेका छन् । क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण सम्बन्धमा केही सम्बोधन नगरिएको भन्दै असन्तुष्टि पाेखेका हुन् ।
बुधबार एक कार्यक्रम आयोजना गर्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले बजेटबाट निराश बनेको बताए । ‘आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत समेत क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण सम्बन्धमा केही सम्बोधन नगरिएको कारणले हामी उद्योगीहरू निराश भएका छौँ,’ महासंघले भनेको छ ।
महासंघले नेपालको स्वदेशी लगानी र स्वदेशी कच्चा पदार्थबाट सञ्चालित देशको अर्थ व्यवस्थामा उल्लेखनीय योगदान पुर्याएका निर्माण सामग्री उत्पादन गर्ने उद्योग प्राथमिक्तामा नपर्नु दुखद भएको समेत बताएको छ ।
२०७९ पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले दर्ता भई सञ्चालनमा रहेका तर मापदण्डलगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगबाट कर, दस्तुर, शुल्क लगायतका राजस्व लिई २०८० असार मसान्तसम्म यथावत रुपमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, उक्त निर्णयअनुसार नेपाल सरकारको तोकिएको निकायबाट हालसम्म कुनै पनि निर्देशन कार्यान्वयन नभएर उद्योगहरु नवीकरण हुन नसकेको महासंघकाे भनाइ छ ।
जिल्ला जिल्लामा रहेका सरकारको सम्बन्धित निकाय घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर, शुल्क लगायतका राजश्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरू नवीकरण समेत नभएकाे महासंघले जनाएकाे छ ।
यदि सरकारबाट कानुन बमोजिम दर्ता भई ईजाजत र अनुमति लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू २०८१ जेठ ३२ गतेभित्र नवीकरण गर्न नेपाल सरकारबाट मातहतका निकायहरूलाई लिखित स्पष्ट निर्देशन र निर्णय नभए देशभर खानी तथा क्रसर उद्योग बन्द गर्ने चेतावनी समेत दिएको छ ।
‘माग सम्बोधन नभएमा महासंघ बाध्य भई २०८१ असार ०१ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरूको उत्पादन तथा विक्री वितरण कार्य ठप्प गरी अनिश्चित कालको लागि बन्द गर्ने र ताला, चाबी सरकारलाई बुझाइने छ,’ महासंघले भनेको छ ।