सत्ता साझेदारभित्रको खटपट, कांग्रेसले देख्यो सत्तामा फर्किने सम्भावना-Sutra News

सत्ता साझेदारभित्रको खटपट, कांग्रेसले देख्यो सत्तामा फर्किने सम्भावना

बुधबार, २३ जेष्ठ २०८१

बुधबार, २३ जेष्ठ २०८१

काठमाडौं । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटबारे छलफल चलिरहँदा संसदमा सत्ता समीकरण फेरबदलको विषयले पनि चर्चा पाएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फेरि केही महिनापछि सत्ता समीकरण परिवर्तन हुनसक्ने सम्भावनालाई दर्शाएको छ ।



बुधबार संसद बैठकमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले प्रस्तुत बजेटलाई ६/८ महिनापछि आफैंले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने भन्दै व्यंग्यात्मक शैलीमा टिप्पणी गरेका छन् । विगतको अवस्था दोहोरिन सक्ने भनाई थापाको छ ।

“बजेटबारे बोल्न आउँदा म आफै कन्फ्युजमा छु, बोल्ने कसरी भनेर, यतिधेरै उथलपुथल भएको यो संसद्‌मा ६र८ महिनापछि आफैंले काँध हाल्नु पर्ने हो कि ? आफ्नै बोली गलपासो हुने हो कि ?”, थापाले भनेका छन्, “गत वर्ष बजेट मिल्दैन भनेको साथीले ३र४ महिनाको जिम्मा लिनु परेजस्तै ।”

मुख्यगरी बजेटका विषयमा प्रमुख सत्ता साझेदार एमालेबाटै जिम्मा नलिने गरी असन्तुष्टि व्यक्त भइरहेको बेला थापाले यस्तो बताएका हुन् । थापाले अगाडि भनेका छन्, “बजेटमा गरिएको घोषणाको जिम्मा कसले लिन्छ ? यो गठबन्धनको मुख्य दल एमालेको जर्साप, कर्सापले के भन्नुभयो यता जान्न, यसको प्रधानसेनापतिले नै यो बजेटसँग हाम्रो रंग मिल्दैन भनेपछि यसको स्वामित्व कसले लिन्छ भन्ने कुराको अर्थ रहेन ।”

यद्यपि, एमालेले भने कांग्रेसले दर्शाएको सम्भावना अर्थहिन भएको टिप्पणी गरेको छ । सत्ता समीकरण बलियो गरी बाँधिएको भन्दै एमालेले काँध थाप्ने अवस्था आइहाल्ला भन्ने कल्पना नगर्न सुझाएको छ ।

“म माननीयज्यूलाई भन्न चाहान्छु, यो सत्ता समीकरण त्यती कमजोर डोरीबाट बनेको छैन्, यो बलियो डोरीबाट बाँधिएको विश्वासको साथ अगाडि बढ्ने संकल्प गरेर अघि बढेको हो”, थापालाई लक्षित गर्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भनेका छन्, “माननीयज्यूहरुले पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेर सरकार आजै ढलोस् भोलिनै ढलोस् भनेर जे चाहिरहनु भएको छ । सामान्य बजेटमाथि केही सुझाव राख्नेवित्तिकै ढलिहाल्छ भन्ने कोणबाट र जिम्मेवारी मेरै काँधमा आईहाल्छ भन्ने तवरले जे टिप्पणी गरिरहनु भएको छ । त्यहाँसम्म पुग्ने परिस्थिति छैन् ।”

तर, प्रमुख सत्ता साझेदार एमालेले भने प्रस्तुत बजेटका विषयप्रति खुलेरै असन्तुष्टी व्यक्त गरिरहेको छ । आफ्नै सरकारले ल्याएको बजेटप्रति उसले स्वामित्व लिएको छैन ।

एमालेले एकातिर संसदमै गुनासो पोखेको छ भने अर्कोतिर स्वयम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै असन्तुष्टी जाहेर गरेका छन् । उनले सार्वजनिक रुपमा पनि बजेट माओवादी पार्टीको जस्तो मात्रै भएको टिप्पणी गरेका छन् ।

“यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो, छलफल नहुँदा अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ, रकमको बाँडफाँट पनि एकातिर ढल्किएको जस्तो देखिन्छ”, ओलीले एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा शनिबार भनेका थिए, “निर्माण प्रक्रियामै कमी रह्यो, यसमा गम्भीर त्रुटी भयो ।”

एमाले सत्ता समीकरणको प्रमुख घटक भएको कारण बजेट पारित गर्न बाध्यकारी अवस्थामा छ । यद्यपि, एमालेभित्र पलाएको असन्तुष्टिले सत्ता समीकरणलाई अघि बढ्न सहज बनाउने देखिन्न । बजेटकै अन्तरवस्तुलाई लिएर देखिएको असन्तुष्टिले समीकरण फेरिन्न भन्न सकिन्न । यसअघि पनि सामान्य पदीय बाँडफाँटका विषयमा असमझदारी विकास हुँदा समीकरणहरु फेरबदल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट