काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानविन विशेष समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ । बुधबार संसद भवनमा पहिलो बैठक बस्दै समितिले काम सुरु गरेको हो ।
पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिइएको समिति संयोजक तथा नेकपा एमाले सांसद सूर्य थापाले जानकारी दिए ।
सभामुख देवराज घिमिरेको उपस्थितिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने बिषयमा छलफल भएको उनको भनाइ थियो ।
तीन महिनाको अवधिमा समितिले गर्नु पर्ने कामलाई व्यवस्थित गर्दै अघि बढ्ने संयोजक थापाको भनाइ थियो । उनले दुई दिनभित्र कार्यविधि पारित गर्ने भन्दै समितिको कार्याविधि, कार्य क्षेत्रलगायतका विषयमा कुनै विवाद नरहेको जिकीर गरे ।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानविन गर्न संसदीय छानविन समिति गठन भएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्य सम्पन्न गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।